डा. मुरारी अधिकारी नीलकण्ठ बहुमुखी क्याम्पसको नयाँ प्रमुखमा नियुक्त


  • दिव्यदर्शन
  • शनिबार, असार २८ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ — धादिङ जिल्लाको शैक्षिक क्षेत्रको अग्रणी संस्था नीलकण्ठ बहुमुखी क्याम्पसले नयाँ नेतृत्व पाएको छ। क्याम्पस सञ्चालक समितिको असार २७ गते सम्पन्न बैठकले डा. मुरारी अधिकारीलाई आगामी चार वर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।

वि.सं. २०५७ मा जम्मा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ बहुमुखी क्याम्पस अहिले जिल्लाकै पहिलो QAA (गुणस्तर प्रत्यायन) प्राप्त गर्ने क्याम्पसको रूपमा स्थापित छ। विश्वविद्यालय अनुदान आयोगबाट मान्यता प्राप्त यो क्याम्पसले समयसँगै आफ्नो शैक्षिक दायरालाई विस्तार गर्दै आएको छ।

स्थापनाकालदेखि हालसम्म क्याम्पस प्रमुखको भूमिकामा भूपेन्द्र कुमार श्रेष्ठ र नवराज शर्मा रहेका थिए। श्रेष्ठ क्याम्पसका संस्थापक प्रमुख थिए भने शर्माले २०७३ सालदेखि नेतृत्व सम्हाल्दै आउनुभएको थियो।

वर्तमानमा क्याम्पसमा स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकायका कार्यक्रमहरू सञ्चालनमा छन् भने स्नातकोत्तर तहमा शिक्षाशास्त्र (नेपाली तथा अंग्रेजी) र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ।

नयाँ प्रमुख डा. अधिकारीले क्याम्पसको शैक्षिक स्तरलाई अझ उकास्ने योजना सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै क्याम्पसलाई जिल्लाकै नमुना शिक्षण संस्थाको रूपमा अघि बढाइने छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web