नेत्रावतीमा रोजगारसम्बन्धि अभिमुखीकरण साथै अपाङगता व्यक्तिलाई सहायता सामग्री वितरण र स्वास्थ्य परीक्षण


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ २१ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
नेत्रावती डबजोङ गाउँपालिकामा एकदिने १८ देखि ५५ वर्ष उमेर समूहका बेरोजगार महिला तथा पुरुषहरूलाई लक्षित गरि रोजगारसम्बन्धि एकदिने अभिमुखीकरण कार्यक्रम भएको छ ।आज मंगलबार गाउँपालिकाको रोजगार सेवा केन्द्रद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष मेघनाथ रिजालले रोजगारी नपाएर विदेशिने बाध्यता हटाउन यस प्रकारका कार्यक्रमले भूमिका खेल्ने बताउनुुहुँदै अब आफ्नै ठाँउमा रोजगारी सिर्जना गर्नेतर्फ आफुहरु प्रतिबद्ध भएको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष सिता माया चोदेनले महिलाहरूलाई केन्द्रित गर्नुहुदै कार्यक्रममा सिकेका कुराहरु समाजमा गएर लागु गर्न र रोजगारका अवसरबाट पछाडि परेका महिलाहरूलाई यस्तो अभिमुखीकरणले अवसरमा पहुँच पुर्याउने बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुहुदै पालिकाबाट प्रवाह हुने सेवा जनस्तरसम्म पुर्याउने र अभिमुखीकरण मार्फत युवाहरूलाई रोजगारीका कार्यक्रमबारे जानकारी दिने बताउनुभयो । उहाँले वडा र पालिका मिलेर स्वरोजगारका लागि आवश्यक योजना अघि बढाईएको र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूलाई सरकारले सञ्चालन गरिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम र रोजगार सेवा केन्द्रमार्फत कसरी सेवा लिन सकिन्छ, बेरोजगारीको पहिचान, तालीमका अवसरहरू, स्वरोजगारका उपाय तथा स्थानीय तहको भूमिकाबारे पनि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा सहभागीहरूले आफूले पहिले नबुझेका धेरै कुराबारे जानकारी पाएको प्रतिक्रिया दिएका थिए ।कार्यक्रमले बेरोजगार युवाहरूलाई जानकारीमूलक बनाउँदै उनीहरूलाई रोजगार र आत्मनिर्भरतातर्फ उन्मुख गराउने विश्वास गाउँपालिकाको रहेका छ । यस कार्यक्रममार्फत सरकारको तर्फबाट जनस्तरसम्म सेवा पुर्याउने प्रयास गरिएको छ र ग्रामीण स्तरमै रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने सम्भावनाको संकेत दिएको छ ।कार्यक्रमलाई गाउँपालिकाको रोजगार संयोजक जय श्री त्रिपाठीले सहजीकरण गर्नुभएको थियो ।

साथै कार्यक्रमकै अवसरमा अपाङगता भएका व्यक्तिहरुलाई ह्विल चियर, बैशाकी, छडी लगायतका सहायता सामग्री वितरण गरिनुका साथै निःशुल्क स्वस्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो । ५९ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, उपाध्यक्ष सितामाया चोदेन, प्रमुख प्रशासकिय अधिकृत हरेराम शाह,सम्पूर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभा सदस्यहरु, गाउँपालिका तथा वडाका कर्मचारीहरु र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web