धादिङ ।
धादिङ अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले आफ्नै स्वामित्वमा बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको छ ।यस काउन्टरमार्फत बीमित बिरामीहरूले आवश्यक औषधिहरू सहज रूपमा अस्पताल परिसरमै प्राप्त गर्न सक्ने भएका छन् । धादिङ अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई सहज रुपमा औषधी उपलब्ध गराउन छुट्टै फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको हो ।

अस्पतालले शुरु गरेको नयाँ सेवाले बीमित बिरामीहरूलाई अस्पताल परिसरमै औषधि प्राप्त गर्न सहज बनाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताउनुभयो ।अस्पताल फार्मेसी सञ्चालनमा जनशक्ति अभाव, औषधि आपूर्ति, र व्यवस्थापन जस्ता चुनौतीहरू रहे पनि नागरिकलाई सहज रुपमा सेवा लिने वातावरण बनाउन छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनमा ल्याएको अध्यक्ष सापकोटाको भनाइ छ । काउन्टर शुभारम्भ कार्यक्रममा अस्पतालका निर्देशक डा. गगनकुमार अधिकारीले छुट्टै बीमा फार्मेसी काउन्टर सञ्चालनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनुभयो ।अस्पतालले सेवा सुधारका लागि निरन्तर प्रयास गरिरहेको बताउँदै डा. अधिकारीले धादिङ अस्पतालको यो पहल स्वास्थ्य बीमा कार्यक्रमलाई जनमैत्री बनाउन र आम नागरिकलाई सरकारी स्वास्थ्य सेवामा विश्वास बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

