
धादिङ ।
सेना दिबस तथा महाशिवरात्री २०८१ को अवसरमा धादिङमा नेपाली सेना र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ। नेपाल पत्रकार महासंघ धादिङ र शिवदल गण गजुरीको टीमबीच भएको मैत्रीपूर्ण खेलमा शिव दल गणको टोली २–१ गोलले विजयी भएको छ । मैत्रीपुर्ण खेलमा पहिलो गोल गरेर अग्रता लिएको शिव दल गणको टोलीलाई संचारकर्मीको टोलीले दोस्रो हाफमा एक गोल गर्दै बराबरीमा पुर्याए पनि खेलको अन्तिम समयमा शिव दल गणको टोलीले अर्को गोल थपेको थियो । शिव दल गणको दोस्रो गोल नै खेलको निर्णायक बन्न सफल रह्यो । मैत्रीपूर्ण फुटबलमा नेपाली सेनाको शिवदल गणका गणपति प्रमुख सेनानी अरुण कार्की, मेजर हेमराज सिवाकोटी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, सचिव सन्तोषराज श्रेष्ठ, लगायत सहभागी थिए । सैनिक र सञ्चार जगतबीचको सम्बन्ध थप प्रगाढ तुल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गणका प्रमुख सेनानी अरुण कार्कीले बताउनुभयो । मैत्रीपूर्ण फुटबलपछि प्रमुख सेनानी कार्कीले सद्भाव र सहकार्य निरन्तर गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै सहकार्य, समन्वय र नेपाली सेनाप्रति सकारात्मक भाव जगाएको नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीको धारणा रहेको थियो ।.
