नेत्रावती डबजोङ गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा बागमती प्रदेशभरिमा प्रथम-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, फाल्गुन १ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
स्थानिय सरकारको कार्यसम्पादन मूल्याङ्कनमा धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले बागमती प्रदेशमा प्रथम स्थान हासिल गर्न सफल भएको छ । धादिङको १३ वटा स्थानिय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट भई बागमती प्रदेशमा समेत ७८.२ अंकका साथ प्रथम हुन सफल भएको हो ।अहिले देशभरिका पालिकामध्ये चौथो स्थान हासिल गरेको नेत्रावती डवजोङ गाउँपालिकाले गतबर्षमा पनि कार्यसम्पादन मूल्याङ्कनमा ४८.७१ अंक हासिल गरि जिल्लामा प्रथम भई उत्कृष्ट स्थानिय तह बन्न सफल भएको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्यांकन अनुसार धादिङमा नीलकण्ठ नगरपालिका दोस्रो र बेनीघाट रोराङ गाउँपालिका तेस्रो हुन सफल भएको छ । आयोगको प्रतिवेदन अनुसार नीलकण्ठ नगरपालिकाले ७६.५ र बेनीघाट रोराङ गाउँपालिकाले ७४.४ अंक प्राप्त गरेका छन् ।आगामी आ.व. २०८२/८३ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको छ ।आयोगले स्थानिय तहले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ ।त्यस्तै असार १० भित्र बजेट ल्याए नल्याएको, ३० असारभित्र बजेट पास गरे नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए नदिएको लगायतका आधारमा मूल्याकंन गरिन्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।आयोगले प्रकाशित गरेको बिबरणअनुसार धादिङको रुबिभ्याली गाउँपालिकाले ४८.८ अंक,खनियाबास गाउँपालिकाले ५२.७ अंक,गंगाजमुना गाउँपालिकाले ६१.९ अंक,त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.३ अंक त्यसैगरि ज्वालामुखी गाउँपालिकाले ५९.१ अंक,सिद्धलेक गाउँपालिकाले ५७.६ अंक, गजुरीले ५४.४ अंक,गल्छीले ६०.७ अंक,थाक्रे गाउँपालिकाले ५५.६ अंक र धुनीबेशी नगरपालिकाले ५५.९ अंक प्राप्त गरेका छन् ।आयोगले यहि माघ ३० गते नतिजा प्रकाशन गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web