
धादिङ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल बिकास आयोजना कार्यन्वयनसम्बन्धी सरोकारवालाहरुलाई अभिमुखिकरण गरिएको छ ।

आज सोमबार गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा सम्पन्न गोष्ठीमा गाउँपालिकाभित्रका कृषक,कृषि समूह तथा सहकारीका प्रमुख एबम् प्रतिनिधि लगायत सरोकारवालाहरुलाई नाफा परियोजनाबारे कृषक सहजीकरण संयोजक दुर्गा पण्डित,बागवानी कृषि अधिकृतद्धय आशिष श्रेष्ठ र कल्पना धामीले जानकारी गराउनुभएको थियो । मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको यस आयोजना अन्तर्गत आयोजना कार्यान्वयन गर्ने ७ बर्षको अवधिमा करिब ३०,००० घरधुरीलाई लक्षित गरी काष्ठफल, फलफूल बगैचा स्थापना गर्ने लक्ष्य लिईएको छ । धादिङ जिल्लाका तीन स्थानीय तह(नेत्रावती डबजोङ,गजुरी र त्रिपुरासुन्दरी गाउँपालिका)मा सञ्चालन हुने छ । सो गोष्ठीमा गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले धादिङका अरु दुई पालिकाको भन्दा त्रिपुरासुन्दरी गाउँपालिकाको कृषकलाई यो परियोजनाले अगाडी लाने गरी लाग्न सबैलाई आग्रह गर्नुभयो ।

त्रिपुरासुन्दरी गाउँपालिकामा भूबनोट र हावापानीको आधारमा मेकाडेमिया नट,एभोगाडो,सुन्तला र कागतिका बिरुवा तोकिएको छ ।गाउँपालिकाका अध्यक्ष राजु उपे्रतीले कृषि क्षेत्रलाई उकास्ने यस्ता परियोजनाबारे नागरिकलाई सुसूचित गर्न सबै जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको छ ।साथै गाउँपालिकाबाट प्रबाह हुने सेवाहरु लगायतका सूचनाहरु सोसियल मिडियाको प्रयोग गरी सम्पे्रषण गर्न सुझाब दिनुभयो ।

कार्यक्रममा उपस्थित किसानहरुले अपठ्यारो निति नियम भन्दा किसानको पक्षलाई ध्यानमा राखी सहज रुपमा नाफा परियोजनामा सामेल हुने वाताबरण बनाईदिन सम्बन्धित निकायलाई सुझाब दिएका छन् ।आयोजना अन्तर्गत कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया नट र ओखरको बगैँचा स्थापना गरिने गोष्ठीमा जानकारी गराईएको थियो । एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण तथा अनुदान, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन लागेको हो ।

