काठमाडौ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास सस्थान डिडिसीलाई प्रभावकारी बनाई ऋणबाट मुक्त गराउन आफूले सक्दो प्रयास गरीरहेको बताउनुभएको छ ।मङ्गलबार मन्त्रालयमा राष्ट्रिय किसान सञ्जालको ज्ञापनपत्र बुझ्दै मन्त्री अधिकारीले डिडिसीको उत्पादनको खपत बढाउन व्यक्तिगत तबरबाट समेत आफूले विभिन्न प्रयास गरिरहेको भन्दै यसको नतिजा चाँडै देखिने उल्लेख गर्नुभयो। विगतदेखि नै डिडिसीमा बेथिति रहेको र यसलाई अन्त्य गर्न केही समय लाग्ने र यसका लागि आफ्नो पहल रहेको मन्त्री अधिकारले उल्लेख गर्नुभयो । यो समयमा डिडिसीले दुध खरिदमा विगतदेखि नै कोटा निर्धारण गर्ने गरेको जानकारी आफूलाई आएको भए पनि किसानलाई निराश पार्न नहुनेमा मन्त्रालयको जोड रहेको मन्त्री अधिकारीले बताउनुभयो । उहाँले सरकारले अण्डा र मासुमा आत्मनिर्भर भए जस्तै दुधमा पनि आत्मनिर्भरको विषय उठाउँदै गर्दा किसानको दुध खरिद नगर्ने भन्ने कुरा हुन नसक्ने बताउनुभयो । केही सञ्चार माध्यममा किसानको दुध सरकारी संस्थानले नकिनेको विषय आएको तर दुध बिक्री नभएको गुनासो किसानमार्फत नआएको भए पनि यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र केही दिनमा यथार्थ बाहिर ल्याउने पनि बताउनुभयो ।