त्रिपुरासुन्दरी माई भगवती मेला २०८१ यहि मंसिर १८ र १९ गते हुने


  • दिव्यदर्शन
  • शनिबार, कार्तिक २४ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
त्रिपुरासुन्दरी माई भगवती मेला २०८१ आगामी मंसिर १८ र १९ गते हुने भएको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरी माई भगवतीको मेला आगामी मंसिर १८ र १९ गते हुन लागेको हो । भगवतीको घरको रुपले परिचित त्रिपुरासुन्दरी गाउँपालिका ४ सल्यानकोटमा मंसिर १८ र माइतीको रुपले चिनिने त्रिपुरासुन्दरी ६ माइथानबेसीमा १९ गते मेला हुनेछ । एक वर्षमा घर, माइती र मावली गरी तीन ठाउँमा पुजापाठ गर्ने अनौठो र रोचक परम्परा छ माइ भगवतीको । माई भगवतीभित्र रोचक र रहस्यमय तथ्य लुकेको छ । सल्यानकोटबाट सयौं मानिसको लावालस्करसहित रातो घुम्टोले सिंगारिएर बाकसभित्र राखिएको भगवतीको प्रतिमूर्तिलाई भक्तजनले हेर्न र छुन समेत पाउदैनन् ।माई भगवतीभित्र अनौठो र रोचक तथ्यमात्र होइन इतिहास समेत जोडिएको छ । नेपाल एकीकणका समयमा पृथ्वीनारायण शाहले छिमेकी जिल्ला गोरखाबाट नुवाकोट आक्रमण गर्न जाँदा त्रिपुरासुन्दरी माई भगवती मन्दिर छेउमा बास बसेको र राती सपनामा एक बालिकाले आर्शिवाद दिएको र उनले विजयी हासिल गरेको प्रसङ्ग दिव्योपदेशमा उल्लेख छ । त्रिपुरासुन्दरी गाउँपालिका धार्मिक र ऐतिहासिक रुपले नेपालमै प्रख्यात समेत छ । माई भगवतीको यो मेलालाई नेपालकै ठूलो मेलामध्ये एक मानिन्छ । मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले हरेक वर्ष विशेष प्रस्तुति समेत दिँदै आइरहेका छन् ।त्रिपुरासुन्दरी माई भगवतीको नामबाटै यसै पालिकाको नाम पनि त्रिपुरासुन्दरी राखिएको हो ।

Source:Nepaldrishya

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web