धादिङ, २३ कार्तिक ।
चितवनको भरतपुर महानगरपालिका वडा नं २९ सत्रकिलोमा आज बिहान भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुने र गम्भीर घाइते हुने सबै माइक्रोबसका यात्रुहरू हुन् ।
मुग्लिनबाट नारायणगढ तर्फ जादँै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ आउदैँ गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किदा दुर्घटना भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
विद्युतिय माइक्रोबसमा सवार गोरखा आरुघाट गाँउपालिका वडा नम्बर १ मान्बु का ४० वर्षीय राजबहादुर गुरुङ, नामथर वतन नखुलेकी करिब ४० बर्षकी महिला, नामथर वतन नखुलेको करिब ३२ वर्षको पुरुष र करिव ३५ वर्षको पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिमालले जानकारी दिनुभयो ।
यस्तै उक्त दुर्घटनामा परी घाइते भएका बसको सह चालक काठमाडौ महानगरपालिका वडा नम्बर ३२ का ३० वर्षीय भोज विक्रम शाहको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । यस्तै नाम थर नखुलेका एक पुरुषको गम्भीर अवस्थामा चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने यस्तै नाम थर नखुलेका ३८ वर्षीय पुरुष घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ ।
दुर्घटनाग्रस्त बस र माइक्रोबस अहिले दुर्घटना स्थलमै छन् भने बसका चालक मकवानपुर हेटौडा उपमहानगर पालिका वडा नम्बर ९ बस्ने वर्ष ४४ का सुर्य विक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।