
धादिङ, १४ कार्तिक ।
कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार । विभिन्न प्रकारका खानेकुरा सहित आज कागको पूजा गरिँदै छ ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गर्ने विधान रहेको परेको छ । तर घडीपलाका हिसाबले मंगलबार नै त्रयोदशी लागेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ । कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ । कागको आवाजको प्रकृति अनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ । कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ ।
काग अत्यन्त चलाख पक्षी हो । अन्नबालीमा लाग्ने किरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो ।
वैदिक सनातन परम्परामा कार्तिक कृष्ण त्रयोदशीका दिन मात्र नभई हरेक दिन आफूले बिहानको भोजन गर्नुअघि काग र कुकुरलाई खाना खुवाउनुपर्ने नियम छ ।