धादिङ, १३ कार्तिक ।
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज मनाइँदै छ ।
तिहार शुरु हुनुभन्दा अघिल्लो दिन आज सुन र चाँदीका गहना वा सिक्का तथा तामा–पित्तललगायत धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राख्ने चलन छ । यो दिन नयाँ गहना वा भाँडा किने घरमा सधैँ लक्ष्मीको बास हुन्छ भन्ने विश्वास छ ।
बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले धनतेरस अर्थात् धन त्रयोदशी पर्व आज नै मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कार्तिक कृष्ण त्रयोदशीकै दिन मनाइने कागतिहार भने बुधबार परेको छ। त्रयोदशीकै साँझ गरिने यमदीपदान बुधबार साँझ गरिँदै छ ।