नवरात्रको छैटौँ दिन आज, नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदै,


  • दिव्यदर्शन
  • मंगलबार, असोज २२ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, २२ असोज ।

वडादशैँको अर्थात् शरद नवरात्रको छैटौँ दिन भए पनि आज पाँचौ दिनको कर्म गरिँदै छ । अर्थात् नवदुर्गाकी पाँचौँ स्वरूप स्कन्दमाताको पूजा आराधना गरिँदै छ ।

स्कन्दमाता भगवती पार्वती कै रूप हो । स्कन्दकुमार (कुमार) को माता भएकोले उहाँको नाम स्कन्दमाता भएको पुराणमा उल्लेख छ । गोरो वर्ण, चार हात भएको उहाँको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । उहाँको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेको हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।

नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ । घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालु शक्तिस्वरूपा भगवतीको आराधना गर्छन् । पुराण अनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो ।

मार्कण्डेय पुराण अन्तर्गत देवी माहात्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् ।

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैंघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक–एक देवीको उपासना गर्ने परम्परा छ । नवरात्रमा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गर्ने परम्परा छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web