वडादशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै


  • दिव्यदर्शन
  • शनिबार, असोज १९ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, १९ असोज ।

शारदीय नवरात्र अर्थात् वडादशैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै छ ।

आज नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा–अर्चना गर्न लागिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ । शिरमा घण्टा आकारको चन्द्रमा भएकाले उहाँको नाम चन्द्रघण्टा भनिएको हो ।

सिंहमाथि बस्नुभएको उहाँको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषल गायत शस्त्र अस्त्र छन् । भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक उहाँको आराधना गर्नाले सबै बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ । नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ ।

प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ । पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो । दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएको पुराणहरूमा उल्लेख छ । आश्विन शुक्ल प्रतिपदाका दिन स्थापना गरिएको घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ । यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ ।

नवरात्रका समयमा जमरा राखिएका दशैँघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने परम्परा छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web