आज र भोलि रात्रिकालीन बस चलाउन रोक


  • दिव्यदर्शन
  • शुक्रबार, असोज ११ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ, ११ असोज ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ ।

हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जनाएको छ ।

त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरूमा आज शुक्रबार र भोलि शनिबार अर्थात् असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउने प्राधिकरणले आग्रह गरेको हो ।

मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको निर्णय अनुसार रातिको समयमा यात्रा गर्दा पहिरो वा बाढीको आङ्कलन गर्न गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेको हिमाली तथा पहाडी जिल्लाहरूमा २ दिन रात्रिकालीन बस नचलाउन भनिएको छ । साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले आग्रह समेत गरेको छ ।

यसैगरी पहिरोको जोखिम भएका स्थानमा र नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन, दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजान पनि प्राधिकरणले आग्रह गरेको छ । त्यस्तै खोज तथा उद्धारका तीन वटै सुरक्षा निकाय एवं स्वयंसेवकहरुलाई तयारी अवस्थामा रहनका लागि पनि आग्रह गरेको छ ।

पुर्व तयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापान समिति र स्थानिय विपद् व्यवस्थापन समितिसँग समन्वयमा रहि अलर्ट रहन पनि प्राधिकरणले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web