
काठमाडौँ, असोज ८
महान चाडपर्व दसैँतिहार आउनै लाग्दा खानेतेलको मूल्यमा वृद्धि भएको छ । पछिल्लो एक डेढ साताको बिचमा खानेतेलको मूल्य प्रतिलिटर २० रुपियाँका दरले थोकमै वृद्धि भएको हो । यो मूल्य खुद्रामा पुग्दा अझै बढेको र यसको प्रत्यक्ष मार सर्वसाधारण उपभोक्तामा परेको छ । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारबाही अघि बढाएको छैन । पछिल्लो समयमा खानेतेलको मूल्यमा अस्वाभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ । विभागका महानिर्देशक राजन पौडेलले मूल्यवृद्धिको विषयलाई आफूले नियालिरहेको र केही तेल उत्पादक उद्योगसँग यस विषयमा सोधपुछ गर्ने काम पनि भइरहेको बताउनुभयो । बजारमा मूल्यवृद्धि हुनेबित्तिकै कारबाही गर्न नमिल्ने भन्दै विभागका महानिर्देशक पौडेलले भन्नुुभयो, “मूल्य बढ्नासाथ कारबाही गर्ने अधिकार हामीसँग छैन । हामीहरू मूल्य बढेपछि त्यसको कारण पत्ता लगाउनेतर्फ लागेका छौँ ।” अनुगमनबाट अस्वाभाविक रूपमा मूल्यवृद्धि भएको पाइएमा कारबाहीको प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो । यता उद्योगीहरू भने अन्तर्राष्ट्रिय बजारमा कच्चा सामग्रीको मूल्य बढेकाले खानेतेलको मूल्य बढाउनुपरेको तर्क गर्दै आएका छन् । उद्योगीहरूले पाम र भटमास तेलको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि नभएको दाबी गरेका छन् । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले पछिल्लो एक÷डेढ साताको बिचमा खानेतेलको मूल्य थोकमै प्रतिलिटर २० रुपियाँले बढेको जानकारी दिनुभयो । उद्योगबाटै सिधै थोकमा आउँदा मूल्यवृद्धि भएर आएको र त्यही अनुसार आफूहरूले पनि वृद्धि गरेको दाबी उहाँले गर्नुभयो । उहाँका अनुसार पछिल्ला केही दिनदेखि सबैखाले खानेतेलको मूल्य प्रतिकार्टोन दुई सय रुपियाँ र प्रतिलिटरमा २० रुपियाँले बढेर बजारमा आएको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार खानेतेलको मूल्य उपभोक्तासम्म पुग्दा ३० रुपियाँसम्म महँगो भएको छ । खुद्रा व्यापारीका अनुसार थोक व्यापारीले प्रतिकार्टोन खानेतेलमा दुई सयदेखि तीन सय रुपियाँसम्म मूल्यवृद्धि गरेका छन् । सङ्घका अनुसार मूल्यवृद्धि भएपछि हाल सूर्यमुखी तेलको मूल्य प्रतिकार्टोन दुई हजार दुई सय रुपियाँदेखि दुई हजार चार सय रुपियाँसम्म र भटमास तेलको मूल्य पनि प्रतिकार्टोन दुई हजार तीन सय रुपियाँ थोकमा पुगेको छ । तोरीको तेलमा प्रतिकार्टोन तीन सय रुपियाँ बढेर दुई हजार आठ सय रुपियाँबाट तीन हजार रुपियाँ पुगेको छ । गएको दुई वर्षयता खानेतेलको मूल्य सस्तो भएको थियो । त्यतिबेला कच्चा सामग्रीको मूल्य घटेका कारण देखाउँदै उद्योगीले मूल्य घटाएका थिए ।
Source:sita sharma gorkhapatra