
धादिङ, २९ भदौ ।
आज राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो । सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो । २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भएको थियो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको थियो ।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।