धादिङ, १० भदौ ।
भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी । सनातन धर्मावलम्बी भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दै मनाउदैँ छ ।
पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौँ अवतारका रूपमा कृष्ण जन्मनुभएको हो ।
लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्परा अनुरूप कंस लगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ । कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान प्रख्यात छ ।
कंस र उहाँका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ । मानिसले गरेको कर्म अनुसार नै उसलाई फल प्राप्त हुन्छ । गरिसकेको कामबारे आशक्ति राखेर चिन्तित नहुनु भन्ने भगवान् कृष्णले दिएको गीताको सन्देश छ ।
आजका दिन कृष्णका गुणकीर्तन गर्ने, उनको आराधना गर्ने, जाग्राम बसी रातमा उहाँको जन्मको प्रतीक्षा गर्ने र भोलिपल्ट उत्सव मनाउने परम्परा छ ।