धादिङ /साउन ११
धादिङ संचार सहकारी संस्था लिमिटेडको ११ औं बार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रतिबेदनमा आम्दानीभन्दा खर्च बढी देखिएको छ ।
बि.स.२०६८ जेठ २४ गते स्थापित सहकारीको धादिङबेशीमा आज एक कार्यक्रम आयोजना गरी सम्पन्न गरेको साधारण सभामा सहकारीका अध्यक्ष बद्री अधिकारीद्धारा प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदनमा आ.व.०८०÷८१ मा ८ जना सेयर सदस्य थप,३ जना ऋणीबाट लगानी असुली,सञ्चालक समिती, लेखापरीक्षण समितीको नियमित बैठक लगायतका प्रगति भएको उल्लेख छ । अध्यक्ष अधिकारीले पत्रकारहरु मात्र शेयर सदस्य रहेको सहकारी भएकाले जिल्लामा क्रियाशिल संचार माध्यममा आवद्ध पत्रकारलाई शेयर सदस्य बन्न आग्रह गर्दै अगामी दिनमा पत्रकार क्षमता अभिबृद्धि तालिम सञ्चालन गर्ने,संस्थालाई करको दायरामा लैजाने र बचत कारोबार गर्दा अनिवार्य बैकिङ प्रणालीबाट नै गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।धादिङ संचार सहकारी संस्था लिमिटेड आ.व.०८०÷८१ को अडिट प्रक्रिया सम्पन्न गरी ०८१÷८२ मा धादिङ जिल्लामा नै पहिलो पटक साधारण सभा गर्ने सहकारी बन्न सफल भएको छ ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरु र शेयर सदस्यले उठाएका जिज्ञासाको सहजीकरण गरी संस्थाको हितका बिषयमा महत्वपूर्ण निर्णयहरु पारित गरेका छन् ।