चालु आ.ब. २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक हुने-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, साउन १० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं साउन १०
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा भागवत आचार्यले अरु कुरा यथावत् रहेमा शुक्रबार चौतर्फी चासोका साथ हेरिएको मौद्रिक नीति सार्वजनिक गरिने जानकारी दिनुभयो । मौद्रिक नीतिका लागि अन्य तयारी सम्पन्न भएको भन्दै उहाँले शुक्रबार बस्ने राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले तय गर्ने बताउनुभयो । अघिल्लो वर्ष साउन ७ गते सार्वजनिक गरिएका कारण यस पटक पनि साउन पहिलो सातामै आउने अनुमान गरिएको थियो । अर्थतन्त्र दबाबमा रहेका कारण यस पटकको मौद्रिक नीति कस्तो आउला भनेर सबैतिरबाट हेरिरहेका छन् । सेयर बजारका लगानीकर्ता मौद्रिक नीति कुरेर बसेका छन् भने निजी क्षेत्रदेखि सबै सरोकारवालाले मौद्रिक नीतिलाई चासोका साथ हेरिरहेका छन् ।समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय बैङ्कले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । मौद्रिक नीतिले मुद्रा प्रदाय, कर्जा र ब्याजदरको व्यवस्थापनमार्फत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग पुर्याउने उद्देश्य राखेको हुन्छ । पुँजीलाई महँगो बनाउने कि सस्तो, राष्ट्रिय मुद्रालाई अन्तर्राष्ट्रिय मुद्राको तुलनामा बलियो बनाउने कि कमजोर जस्ता कुरा मौद्रिक नीतिमा निर्भर हुन्छ ।राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गर्नुभएको छ भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web