धादिङ, ०६ साउन ।
गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजन प्रति सम्मान भाव प्रकट गर्दै आज गुरुपूर्णिमा मनाइँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिक कालदेखि गुरु पूर्णिमाको रुपमा मनाउने गरिन्छ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ ।
गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवं संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्दछन् ।