धादिङ /साउन ४
गृह जिल्ला धादिङ आइपुग्नुभएका कृषिमन्त्री माननीय रामनाथ अधिकारीलाई नेपाल प्रेस युनियन धादिङले पत्रकार सम्मेलन गरी सम्मान गरेको छ ।सो अवसरमा उहाँले आफ्नो वरपर कृषि उत्पादन र उत्पादकत्व बढाउनका लागि कस्ता कार्यक्रमहरु छन् त्योतर्फ आफ्नो रुचि अगाडि बढाएको बताउनुभएको छ । त्यस्तै, कृषि क्षेत्रमा चुनौतीको चाङ रहेको उहाँले बताउनुभयो । ‘मल, बीउ विजन अभाव छ । विषादीको अत्यधिक प्रयोग भइ रहेका छन् । रैथाने बाली उत्पादन हुन्न, विकासे चिज प्रयोग गरौं भने जताततै बदमासी मात्रै छ । यस्ता थुप्रै समस्याहरु छन्’ उहाँले भन्नुभयो ‘कृषि क्षेत्रमा म विज्ञ त होइन । तर विज्ञहरुसँग सरसल्लाह गरी सुझाव लिएर म चाँडै भन्दा चाँडै एउटा संकल्प तयार गर्दैछु । किसानको हित हुने गरी कमजोरी नगरी प्राप्त जिम्मेवारी पूर्ण रुपमा निर्वाह गरेर हेर्न लायक केही न केही परिवर्तन हुने काम गर्छु ।’ त्यस्तै नव नियुक्त मन्त्री अधिकारीलाई नागरिक समाज संस्थाहरूले सम्मान गरेको छ । नेपाल सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेको अवसरमा सम्मान पत्रसहित दोसल्ला ओडाएर बधाई तथा शुभकामना दिएका हुन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ धादिङ, नेपाल रेडक्रस सोसाईटी धादिङ, धादिङ उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ धादिङ र गैर सरकारी संस्था महासंघ, नेपाल निजामती कर्मचारी संगठन लगायतले सम्मान गरेको हो ।