धादिङ /असार ३१
धादिङ क्षेत्र नम्बर २ बाट निर्वाचित संघिय सांसद रामनाथ अधिकारी कृषिमन्त्री बन्नुभएको छ । नेपाली कांग्रेसको शेखर कोइराला र महामन्त्री गगन थापा समूहबाट अधिकारी कृषि तथा पशुपक्षी विकासमन्त्री बन्नुभएको हो ।नेपाली काँग्रेस धादिङको ५ पटकसम्म जिल्ला सभापति बन्नुभएका अधिकारी २०७९ मंसिरको चुनावमा संघीय सांसदमा निर्वाचित हुनुभएको थियो ।उहाँ हाल नेपाली कांग्रेस धादिङका जिल्ला सभापति पनि हुनुहुन्छ । तीन दशकभन्दा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय अधिकारी नेपाली कांग्रेसभित्र इमानदार र सिद्धान्तमा निष्ठावान् नेताको रूपमा परिचित हुनुहुन्छ ।धादिङको साबिक सुनौलाबजार गाविस तथा हालको नीलकण्ठ नगरपालिका– ६, नेवारपानीमा २०१८ साल भदौ १८ गते जन्मिनु भएका अधिकारी २०५६ सालमा भएको आमनिर्वाचनमा पनि धादिङ २ नम्बर क्षेत्रबाट सांसद बन्नुभएको थियो। यसैगरी राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै नेपाली कांग्रेसको तर्फबाट उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह र नेकपा एमालेबाट उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई शपथ ग्रहण गराउनुभएको छ ।यस्तै अरू मन्त्रीहरूलाई पनि राष्ट्रपति पौडेलले शपथ गराउनुभएको छ ।यस्तै कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा परराष्ट्रमन्त्री बन्नुभएको छ ।यस्तै कांग्रेसको गगन थापा र शेखर कोइराला समूहबाट प्रदीप पौडेल स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री, बद्री पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएको छ ।