आजदेखि नौबिसे–मलेखु सडकखण्ड राति बन्द गरिने


  • दिव्यदर्शन
  • बुधबार, असार २७ २०८१
  • पढ्न लाग्ने समय 1 मिनेट

धादिङ, २६ असार ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड आजदेखि राति बन्द गरिने भएको छ ।

आज देखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्नका लागि १५ दिन सडक बन्द गर्न लागिएको हो । राति १० बजेदेखि बिहान ३ बजेसम्म राजमार्ग बन्द गरेर पुलको बिम राख्ने कार्य गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले बताउनुभयो । नौबिसे नागढुङ्गा खण्डमा निर्माण हुँदै गरेको पुलको बिमलाई उचालेर पुलमा राख्नको लागिएको र त्यस बेला हुनसक्ने जोखिमलाई मध्यनजर गरेर काम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

गजुरी गाउँपालिका वडा नं ५ मा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलको Girder Launching गर्न लागिएको छ । दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको इन्जिनियर रिजालले बताउनुभयो ।

काम भइरहँदा सवारी साधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने रातिको समयमा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधनलाई पूर्णरुपमा रोकिने छ ।

सम्पूर्ण चालकलाई आफ्नो लेनमा अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न जिल्ला प्रहरी कार्यालय धादिङले सूचना जारी गरेको छ । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन पूर्णरुपमा बन्द रहने छ । राजमार्ग भएर यात्रा गर्ने सवारी साधनलाई वैकल्पिक मार्गको रुपमा गल्छी–विदुर–छहरे–टोखा सडक प्रयोग गर्न जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web