धादिङमा आयुर्वेद सेवा लिनेको सङ्ख्या बढ्दै,बर्षमा झण्डै ६० हजारले सेवा लिए


  • दिव्यदर्शन
  • बिहिबार, असार २१ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ
धादिङबेशीमा अवस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट वर्षमा झण्डै ६० हजार बिरामीले सेवा लिने गरेका छन् ।चालु आर्थिक बर्षको साउनदेखी असार १५ गतेसम्मको तथ्याङ्क अनुसार चिकित्सालयबाट ५९ हजार ८ सय २१ जनाले सेवा लिएको चिकित्सालयका प्रमुख डा.अमुल्य दाहालले जानकारी दिनुभयो ।बुधबार आयुर्वेद सेवा प्रवद्र्धन गर्न धादिङका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम गर्दै यसबारे जानकारी दिनुभएको हो ।उहाँका अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट २३ हजार ५ सय ४६ विरामीहरुले सेवा लिएका छन् ।जसमध्ये बहिरंग सेवा ८ हजार ३८ जना, जेष्ठ नागरिक १ हजार ९ सय ४०, स्तनपायी आमा १ सय ६९, पूर्वकर्मरपञ्चकर्म ४ हजार ८ सय ३७, प्याथोलोजी ल्याब ४ हजार ५ सय ७२, अकुपन्चर सेवा १ हजार ६ सय ५९, फिजियोथेरापी सेवा ९ सय ९०, योग सेवा ७ सय ७८ र स्वास्थ्य शिविर ५ सय ६६ जनाले सेवा लिएका छन् ।त्यसैगरी नागरिक आरोग्य सेवा केन्द्रबाट ११ हजार ५ सय ७३ जना र आयुर्वेद औधालयबाट २४ हजार ७ सय २ गरि जम्मा ५९ हजार ८ सय २१ जनाले सेवा सेवा लिएको डा.दाहालले बताउनुभयो ।अन्तरक्रियामा सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले पछिल्लो समयमा आयुर्वेद सेवा प्रति आम नागरिकहरुको विश्वास बढ्दै गएको बताउनुभयो। आयुर्वेद सेवाको बारेमा अझै पनि नागरिकहरुलाई जानकारी नभएको हुनाले आम संचार माध्यमबाट प्रसारण र प्रकाशन गरि सहयोग गर्न आग्रह समेत गर्नुभएको छ।नीलकण्ठ नगरपालिका–३ स्थित नीलकण्ठ बहुमुखी क्याम्पस अगाडी रहेको आयुर्वेद औषधालय आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको रुपमा विस्तार भएसँगै १६ बेडको अस्पतालमा स्तरोन्नति भएको छ ।तर १६ शय्याको अस्पताल संचालन गर्न मिल्ने आफ्नै भवन नहुँदा सेवा दिन कठिनाई भैरहेको डा.दाहालले बताउनुभयो ।धादिङ र गोर्खाका विभिन्न ठाउँबाट दैनिक ३५ जना भन्दा माथि चेकचाँज गर्न विरामीहरु आउने गरेको उहाँले बताउनुभयो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने र शशुल्क फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने पनि बताउनुभयो।औषधालयले बिभिन्न स्थानमा भान्साघर औषधालय कार्यक्रम महिला तथा आमा समुहमा समेत सञ्चालन गर्दै आएको छ । जिल्ला भर १० वटा आयुर्वेद संस्थाहरू सञ्चालित छन् ।धादिङबेशीको चिकित्सालय सहित ६ वटा स्थानीय तह सिद्धलेक, नेत्रावती डवजोङ, खनियाबास, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ भने ज्यामरुङ, गजुरी, बैरनी र सेर्तुङमा औषधालय सञ्चालनमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web