धादिङ : नेत्रावती डबजोङ गाउपालिकाको पन्धौँ गाउँ सभा सम्पन्न भएको छ । आईतबार ३८ करोड ४७ लाख ५६ हजार ८ सय ४१ रुपैंया २१ पैसा बजेट बिनियोजन गर्दै गाउँपालिकाले पन्ध्रौं गाउसभा सम्पन्न गरेको हो ।
गाउँसभामा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालद्धारा प्रस्तुत निति तथा कार्यक्रम र उपाध्यक्ष सितामाया चोदेनद्धारा प्रस्तुत बजेट सर्वसहमत पास गरिएको छ ।
गाउँसभाले पालिकालाई आवश्यक आर्थिक ऐन र बिनियोजन ऐन समेत पास गरेको छ । गाउँसभाको अवसर पारेर नीलकण्ठ नगरपालिका वडा नं ३ निवासी प्रेम बहादुर श्रेष्ठलाई गाउँपालिकाको उत्कृष्ट लोगो निर्माण गरेवापत नगद ३० हजार सहित सम्मान गरीएको थियो ।
गाउँपालिकाले धुलो कम हिलोमुक्त पालिका बनाउने, एक घर एक पक्कि टनेल निर्माण कार्यलाई निरन्तरता दिने, गाउँपालिकाभित्र उत्पादित तीन म -मह, महि र मदिरा_ लाई ब्राण्डिङ गरीने, एक वडा एक कृषि पशु उत्पादन मार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गर्दै लगिने, वडा नं १ मा सुन्तला खेती, वडा नं २ मा टिमुर खेती, वडा नं ३ मा किवी खेती, वडा नं ४ मा पशुपंक्षी तथा फलफुल उत्पादन क्षेत्र र वडा नं ५ मा सुन्तला खेती उत्पादनको पकेट क्षेत्र निर्माण गरीने जस्ता महत्वपुर्ण कार्यहरु निती तथा कार्यक्रममा समावेश गरीएको छ ।
यस्तो छ नीति तथा कार्यक्रमको पुर्ण पाठ :
नेत्रावती डबजोङ गाउँपालिकाको गरिमामय पन्ध्रौं गाउँसभामा आर्थिक वर्ष २०८१।२०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा गौरवान्वित महशुस गरेको छु । यस महत्त्वपूर्ण अवसरमा उपस्थित गाउँपालिकाको उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, गाउँ कार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, सम्पूर्ण कर्मचारीहरु साथै हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस गाउँसभा सफल बनाउन र यसको गरिमालाई बढाउन पाल्नुहुने सबै पेशा, वर्ग, सेवा रसमूहमा आवद्ध सम्पूर्ण अतिथी महानुभावहरुमा म यस गाउँपालिकाको अध्यक्ष र गाउँपालिका परिवारको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।
नेपालको संविधानले आत्मसात गरेको संघीय शासन प्रणाली अनुरुप तीन तहको सरकार मध्ये जनताको सबैभन्दा नजिकको सरकार अर्थात गाउँ–गाउँमा सिंहदरबारको रुपमा परिचित स्थानीय सरकार सञ्चोलन भएको ७ वर्ष पुरा भई ८ वर्षमा प्रवेश गरेको सन्दर्भमा हामी यहाँ अगामी आ.व.२०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न यहाँहरु माझँमा उपस्थित भएका छौं । यो सात वर्षमा स्थानीय सरकार संचालन गर्न सहयोग पुर्यािउनु हुने सम्पूर्ण गाउँबासीहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, नागरिक, समाज, शिक्षकहरु, पत्रकारहरुमा म हृर्दयदेखि नै धन्यवाद दिन चाहन्छु । प्रजातान्त्रिक, लोकतान्त्रिक एवम् गणतान्त्रिक आन्दोलनमा सहादत्त प्राप्त गर्ने ज्ञात –अज्ञातशहिदहरु प्रति श्रद्बासुमन व्यक्त गर्न चाहन्छु ।
दोस्रो स्थानीय सरकारको कार्यकालको दोस्रो वर्षको अन्त्यमा जनताका अपेक्षा तथा हालसम्मको विकास निर्माण तथा सेवा प्रवाहलाई पक्कै पनि यहाँहरुले मूल्याङ्कन गर्नु भएको छ । मलाई लाग्छ,आम सर्वसाधारण जनताले परिवर्तन महसुस गर्नुभएको छ । स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सेवाहरुलाई आम जनताको आँगनमा पुर्यारई सम्पूर्ण गाउँबासीको मन जित्नु पर्ने चुनौती र अवसर समेत हामीलाई प्राप्त भएको अवस्था छ ।
धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित यो गाउँपालिकाले विकासका विविध सम्भावना बोकेको छ । सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस गाउँपालिका क्षेत्रमा कृषि, जडिबुटि र पर्यटनलाई नमुनाको रुपमा विकास गरी समग्र गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना देखिन्छ । आवश्यकताका अनगिन्ती पहाडहरु बीच गाउँपालिकाको सीमित स्रोत र साधनहरुलाई न्यायोचित तथा अधिकतम् प्रयोग गर्दै हाम्रा असीमित आवश्यकता र चाहनाहरुलाई प्राथमिकताका आधारमा क्रमश पूरा गर्दै आम नागरिकको विकास तथा परिवर्तनको चाहनालाई आत्मसाथ गरि हालसम्म प्राप्त आर्थिक, सामाजिक तथा भौतिक उपलब्धीहरुलाई संस्थागत गर्दै विगतमा भएका कमीकमजोरीहरुलाई सच्याउदै बाँकी अवधीमा सहकार्य र समन्वयका साथ गाउँपालिकालाई अगाडि बढाउने प्रतिबद्बता व्यक्त गर्दछौं ।
गाउँसभाका सदस्य ज्यूहरु,
नेत्रावती डबजोङ गाउँपालिकाको आगामी आ.व. २०८१/८२ मा सम्पादन गरिने क्रियाकलापको मुख्य-मुख्य बुँदाहरुलाई छोटकरीको रुपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
पूर्वाधार तथा संरचना विकास तर्फः-
- गाउँपालिका भित्र सडक पहुँचलाई सहज बनाउन हाल संचालनमा रहेका सम्पुर्ण सडकलाई धुलो कम हिलोमुक्त बनाइने छ ।सम्पुर्णवडालाई पालिकाको केन्द्रसम्म पक्की सडकले जोड्ने कार्य सुरु गरिने छ। उक्तकार्यको थालनी थर्पू देखि सेमजोङ मार्पाक सडकलाई आगामी आ.व.मा कालोपत्रे गरि सुरु गरिने छ।सडक सञ्जाल सुरु हुनुपुर्ब चलनचल्तीमा रहेका पदमार्गहरुको पुनर्निर्माण गरि संरक्षण गर्ने कार्य थालनी गरिने छ।
- खानेपानीको समस्या समाधान गर्ने उदेश्यरले संचालित एक घर एक धारा कार्यक्रम सफलतापूर्वक अगाडि बढिरहेको र आगामी आ.व.मा समेत यसलाई निरन्तरता दिईनेछ ।
- गाउँपालिकाको योजना तथा कार्यक्रम छनौट गर्दा टुक्रे योजनालाई कम गर्दै ठूला र महत्त्वपुर्ण योजना छनौट गर्ने नीति लिएको छु ।
- “घरदैलोको सरकार” नारालाई सार्थक बनाउन रु. ५ लाख सम्मको वडा कार्यालयबाट विनियोजन भएको योजना तथा कार्यक्रम वडाबाटै सम्झौता गर्ने व्यवस्था मिलाईने छ । साथै उपभोक्ता समिति गठन गर्दा अध्यक्षमा महिला र दलितर अपाङ्गता भएका सीमान्तकृत बर्गका नागरिकको सहभागिता र नेतृत्वका अबसरहरुको प्रोत्साहन गरिनेछ।
- जोखिम संवेदनशील भू-उपयोग योजना, बालमैत्री तथा अपाङ्ग मैत्री पूर्वाधार, पूर्वाधार संरचनाका लागि मर्मत संभार कोषको व्यवस्थालाई प्राथमिकता दिईनेछ ।
- गाउँपालिकाले सिँचाईका आयोजनाहरुमा लगानी गर्दा कृषि उत्पादनको बढी संभावना भएको स्थानमा लागानी गर्ने नीति अवलम्बन गरिनेछ । साथै सिँचाई संरचनाको मर्मत संभारमा जोड दिईनेछ ।
- गाउँपालिकाको भवन निर्माण आचार संहिताको प्रभावकारी कार्यान्वयनमा जोड दिईनेछ ।
- विकास योजना सञ्चालन गर्दा साना योजानहरुमा प्रारम्भिक वातावरणीय मूल्यांकन (IEE) र ठूला योजनाहरुमा वातावरणीय प्रभाव मूल्यांकन (EIA) गर्ने परिपाटिलाई अवलम्बन गरिनेछ ।
- उपभोक्ता समिति मार्फत भईरहेको निर्माण कार्य ठेक्काद्धारा गराईएको पाइएमा यस्तो कार्यलाई कडाईका साथ अनुगमन गरी यस प्रकारको कार्यलाई पूर्ण निरुत्साहित गरिनेछ । साथै यस्ता कार्य गर्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई कालो सूचिमा राखि उपभोक्ता समितिको पदाधिकारीबाट हटाइनेछ ।
- गाउँपालिका क्षेत्रभित्र उपभोक्ता समिति मार्फत गरिने कार्यलाई प्रभावकारी, पारदर्शी , छिटो छरितो र सहजिकरणका लागि उपभोक्ता समितिका पदाधिकारीलाई निमार्ण कार्य थालनी पूर्व अनिवार्य रुपमा अभिमुखिकरण तालिमलाई निरन्तरता दिइनेछ ।
- भर्यावङभुरुङ दामोदर देउताको थान लिफ्टिङ खानेपानी आयोजनालाई विशेष प्राथमिकतामा राखि वडा नं. ४ र ५ लाई खानेपानीमा आत्मनिर्भर बनाउने नीति लिएको छु ।
- ४० लाख भन्दा मुनिका योजनाहरु उपभोक्ता समिति मार्फत गराउने नीति लिएको छु ।
- उपभोक्ता समितिहरुलाई ढुङगामा लगाउदै आएको स्थानीय कर छुट दिने नीति लिएको छु ।
- उपभोक्ता समितिबाट सञ्चालित सम्पूर्ण योजनाहरु पहिला सम्पन्न गर्ने एक वडालाई पुरस्कृत गर्ने नीति लिएको छु ।
आर्थिक विकास
कृषि तथा पशुपंक्षी विकास
- एक घर एक पक्की टनेल निर्माण कार्यक्रमलाई निरन्तरता दिने व्यवस्था मिलाएको छु ।
- एक वडा एक कृषि र पशु उत्पादन कार्यक्रम मार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गर्दै लगिनेछ । जसअनुसार वडा नं. १ मा सुन्तला खेती, वडा नं. २ मा टिमुर खेती, वडा नं. ३ मा किवी खेती, वडा नं. ४ मा पशुपंक्षी तथा फलफुल उत्पादन क्षेत्र र वडा नं. ५ मा सुन्तला खेती उतपादनको पकेट क्षेत्र तय गरिनेछ ।
- बेमौसमी तरकारी खेतीका लागि पक्की टनेल निर्माण गर्दै आगामी वर्षहरुमा बेमौसममा समेत उल्लेखनीय परिणाममा तरकारी उत्पादन गर्दै लगिने छ ।
- गाउँपालिका क्षेत्रभित्र उत्पादित ३ म (मह, महि र मदिरा) लाई ब्रान्डिङ गरिने छ । कुनै कम्पनि वा फर्म तयार भई आएमा स्थानीय रक्सी ब्रान्डीङ कार्यको अनुमति दिईने प्रवन्ध मिलाईने छ ।
- बाली संरक्षणतथा बालीमा लाग्ने रोग किरा नियन्त्रणका लागि आवश्यक औषधी खरिद गरी वडाहरुबाट वितरण गरिनेछ ।
- कृषि क्षेत्रको उत्पादन र उत्पादकत्त्व वृद्धि गरी आम जनताको जिवनस्तर सुधार ल्याउनको लागि कृषक वर्गिकरण गरी विशेष प्रोत्साहनको व्यवस्था, कृषिजन्य उत्पादनको सुरक्षा, भण्डारण तथा बजारको नीतिगत व्यवस्था गरी आधुनिक र व्यवसायिक कृषि प्रणालीको विकास गरिने छ ।
- नेपाल सरकारले गाँजा खेतीको लागि कानून निर्माण गरी रहेकोले सो कानून लागू भएमा स्थानीय रुपमा गाँजा खेती गर्न आवश्यक कार्य अगाडी बढाईनेछ ।
- माटोको स्वच्छता कायम गर्नका लागि प्राङ्गारिक मलको उपयोगलाई प्रोत्साहन गरिनेछ । साथै जैविक रसादीको प्रयोगलाई समेत प्रोत्साहन गर्ने र गाउँपालिका क्षेत्रभित्र उत्पादित स्थानीय कृषि तथा पशुजन्य उत्पादनको बजारीकरण नीति लिईनेछ ।
- विभिन्न पशुपँक्षीहरुमा देखिने संक्रमण रोग नियन्त्रणका लागि औषधी वितरण र खोप कार्यक्रमलाई निरन्तरताका साथै थप प्रभावकारी बनाइने छ ।
- पशु विमा कार्यक्रमलाई निरन्तरता दिएको छु ।
- दुग्ध उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर एवं व्यवसायिक बनाउन गाई, भैँसीको नश्ल सुधार एवम् उत्पादकत्त्व वृद्धिका लागि कृत्रिम गर्भाधान (Sexed Semen) कार्यक्रमलाई अगाडी बढाईनेछ ।
- सार्वजनिक निजी साजेदारीमा पालिका भित्र औधोगिक स्तरको जडिबुटी उत्पादन सम्बन्धी सम्भाब्यता अध्ययन गरिनेछ।
- सार्वजनिक वा व्यक्तिगत जग्गामा कुनै व्यक्ति वा फर्मले खेती गर्न चाहेमा आवश्यक व्यवस्था मिलाईनेछ ।
- तितेपाति खेती गरी तेल निकाल्ने, प्रशोधन वा सिधै निकासी पैदारी गर्ने व्यक्ति वा संघ संस्था खोजी र खाली जग्गामा तितेपाति उत्पादन गर्ने नीति लिएको छु ।
रोजगार तथा उद्यम विकास
- गाउँपालिका क्षेत्रभित्र रहेका उद्यमीहरुमलाई सीप विकास तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालनलाई निरन्तरता दिईनेछ ।
- विदेशबाट फर्केका स्थानीय व्यक्तिहरुका लागि आफूले विदेशमा आर्जन गरेका ज्ञान सीपलाई स्वदेशमा प्रयोग गरी थप उद्यमशिलताको विकास गर्ने नीति लिईनेछ ।
- प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी रुपमा अगाडी बढाउन सामुदायिक आयोजनामा गाउँपालिकाको लागत साझेदारी कायम गरी वडा तहमा समेत लागत साझेदारी गराउन र रोजगारीको प्रबन्ध र भौतिक पूर्वाधारको समेत विकास गरिने छ । यस्तो साझेदारीमा आवश्यक कार्यविधि बनाएर श्रमिकको ज्याला तर्फको खर्च प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत र अन्य निर्माण सामाग्री तर्फको खर्च गाउँपालिकाबाट व्यवस्था गरिने छ ।
- गाउँपालिका र वडास्तरीय योजनामा रोजगार सेवा केन्द्र मार्फत श्रमिकको आपूर्ति गर्न पहल गरिने छ ।
- श्रमिकलाई कार्यस्थलमा हुन सक्ने जोखिमलाई कम गर्नका लागि आवश्यक सुरक्षा सामाग्रीको प्रबन्ध गरिनेछ ।
- बैदेशिक रोजगारमा जाने व्यक्तिका लागि पुनःश्रम स्वीकृति गाउँपालिकाको रोजगार सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिने छ ।
- श्रमको उत्कृष्ट गन्तव्यको रुपमा परिचित कोरियन सरकारसँग भिसा सम्बन्धमा सम्झौता गरी सिजनल भिसा लागू गरिनेछ ।
- नेपालीसेना, नेपाल प्रहरि र शसस्त्र प्रहरि बलमा भर्नाभई राष्ट्रसेवा गर्न चाहने युबाबर्गलाई सम्बन्धित संगठनको सहकार्यमा तयारी कक्षाहरु सञ्चालन गर्ने कार्यको थालनी गरिने छ।
- संघिय सरकार, प्रदेश सरकार र वैदेशिक रोजगार बोर्डको लागत साझेदारीमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लागू गरी आप्रवासी कामदार तथा तिनीहरुको परिवारको अधिकारको सुनिश्चित गर्ने नीति लिएको छु ।
सहकारी
- यस गाउँपालिका क्षेत्रभित्र रहेका बैंक तथा वित्तिय संस्था र कृषि तथा बचत ऋण सहकारीहरुले निश्चित प्रतिशतमा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण प्रवाह गर्न समन्वय गरिने छ ।
- नेत्रावती गाउँबासिका कृषकहरुलाई आवश्यक अनुदानको रासायनिक मल वितरण गर्नका लागि गाउँपालिकाभित्र रहेका सहकारीहरुलाई गाउँपालिकामा सूचिकृत गराई आवश्यक समन्वय र सहजिरकण गरिनेछ ।
सामाजिक विकास
शिक्षा युवा तथा खेलकुद
- विद्यालय भित्रको शिक्षाको गुणस्तर अभिवृद्धि गर्न विद्यालय व्यवस्थापन समिति तथा प्रधानाध्यापकलाई बढी जिम्मेवार बनाई अघि बढ्नका लागि विद्यालय संस्थागत स्वमूल्यांकन परिपाटीलाई केही विद्यालयहरुबाट लागू गरी क्रमशः अरु विद्यालयहरुमा विस्तार गरिनेछ ।
- गाउँपालिकाभित्रका विद्यालयहरुको नक्शाङ्कन, शिक्षक, विद्यार्थी अनुपात, शैक्षिक गुणस्तर समेतको अध्ययन गरी नमुनाको रुपमा विद्यालय बस सञ्चालन गरी विद्यालय एकीकरणको नीति लिएको छु । उक्त नीतिमा स्वत स्फुर्त सहभागी हुन चाहने विद्यालयका विद्यार्थीहरुका लागि विशेष सुविधाको व्यवस्था गरिने छ ।
- विद्यालय समायोजन तथा शिक्षक दरबन्दी मिलान गरिनेछ ।
- शिक्षकहरुलाई कामप्रति अझ बढी उत्प्रेरित गर्न उत्कृष्ट शिक्षक सम्मान तथा पुरस्कार कार्यक्रमलाई निरन्तरता दिएको छु ।
- गाउँपालिका बाट M.B.B.S र प्राविधिक शिक्षा अध्ययनरत विपन्न, दलित तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने ब्यवस्था मिलाएको छु ।
- प्रविधिमैत्री विद्यालयको अवधारणालाई कार्यान्वयनमा ल्याइनेछ ।
- छात्राहरुलाई निःशुल्क रुपमा विद्यालयमा नै गुणस्तरीय स्यानिटरी प्याडको नियमित उपलब्धताको सुनिश्चिततालाई निरन्तरता दिइनेछ ।
- विद्यार्थीहरुलाई खेलकुदसँग जोड्नका लागि राष्ट्रपति रनिङ शिल्डलाई बजेटको व्यवस्था गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादनमा जोड दिइनेछ ।
- गाउँपालिका क्षेत्रभित्र Multi Grade Multi Level Methodology (MGML) “ बहु कक्षा बहु स्तर सिकाइ पद्धती ” लाई निरन्तरता दिइनेछ ।
- राष्ट्रियस्तरको शिक्षाको गुणस्तर पालिका भित्र नै उपलब्ध गराई बालबालिकाको शिक्षाको लागि गाँउ छाडी शहरनै जानुपर्ने बाध्यात्मक परिस्थितिको न्युनिकरणका लागि शैक्षिक सुधार कार्यक्रमहरु सुरु गरिनेछ।
- बालक्लब गठनलाई प्राथमिकता दिई बाल सञ्जाल एवं बालबालिकाको क्षमता विकास सम्बन्धी कार्यलाई प्राथमिकताका साथ कार्यान्वयन गरी बालमैत्री विद्यालयरगाउँबनाउने नीति अंगीकार गरिनेछ ।
- माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि लागू पदार्थ दुर्व्यसन तथा साइबर क्राइम सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
- स्वयम् सेवक शिक्षक आ.वि. र मा. वि. तहका शिक्षकका लागि मासिक तलब, पोशाक भत्ता र दशैँ खर्चलार्इ निरन्तरता दिइनेछ ।
- कार्यालय सहयोगी, बाल विकास शिक्षक,माध्यामिक विद्यालयका लेखा कर्मचारीहरु र सामुदायिक सिकाइ केन्द्रका परिचालिकाहरुका लागि थप प्रोत्साहन रकममा निरन्तरता दिइनेछ ।
- गाउँपालिका स्तरमा शिक्षक (बिद्यार्थी निर्मित बिषयगत शैक्षिक सामर्ग्री निर्माण तथा प्रर्दशन गरि प्रतिभा प्रस्फुटन गरिनेछ ।
- विद्यार्थीहरुको लागि पालिका स्तरिय विभिन्न अतिरिक्त क्रियाकलाप संचालन गरिनेछ ।
- बिद्यालयमा शिक्षाको कार्यक्रम अन्तर्गत नियमित अनुगमन र मूल्याङ्कन तथा कक्षा अवलोकन गरि पृष्ठपोषण प्रदान गरिनेछ ।
- कक्षा ८ को परीक्षालाई पालिका स्तरमा स्वच्छ,निष्पक्ष र मर्यादित रुपमा संचालन गरिने छ।
- बालविकास शिक्षकहरुलार्इ क्षमता अभिवृद्धि गर्ने र सामुदायमा आधारित बालविकास केन्द्रलाई सञ्चालन गर्नका लागि आवश्यक सामग्री प्रदान गरिनेछ।
- प्रसूति सट्टाशिक्षक अनुदानको व्यवस्थालाई निरन्तरता दिईनेछ।
- अभिभावक शिक्षा कार्यक्रमलाई व्यवस्थित गरिनेछ ।
- नीजि विद्यालयलाई शैक्षिक मापदण्ड अनुसार सञ्चालन भए नभएको विषयमा अनुगमन गरी मूल्याङ्कन गरिनेछ।
- गाउँपालिका भित्रका विपन्न, जेहन्दार विद्यार्थीका लागि शैक्षिक सामग्री तथा विद्यालय पोषाक व्यवस्था गरी शिक्षाको पहुँचमा सहजै पुर्याउन सहयोग गरिनेछ ।
- खेल क्षेत्रको विकासका लागि विद्यालयस्तर मै खेल शिक्षकको व्यवस्था गरिनेछ ।
- ‘पढ्दै कमाउदै’ कार्यक्रम सुरु गरिने छ। यसका लागि बिधार्थीहरु माझ सामुहिक श्रम, उत्पादन र वितरणका कार्यक्रमहरु सम्बन्धी कार्यविधी बनाई लागु गरिने छ।
- संघिय र प्रदेश कानुन बमोजिम विद्यालयलाई निःशुल्क शिक्षा गर्ने नीति लिएको छु ।
स्वास्थ्य
- गर्भवती, सुत्केरी तथा बालबालिका पोषण भत्तालाई निरन्तरता दिएको छु ।
- घरमा प्रसुती हुने दरलाई शुन्य कायम गर्न लक्षित कार्यक्रमहरु संचालन गरिनेछ ।
- आकस्मिक विरामीलाई एम्बुलेन्स सेवा उपलब्ध गराईनेछ । तत्काल सुबिधा सम्पन्न अस्पताल पुर्योउन नसके मृत्युसम्म हुनसक्ने अवस्थामा हेलिकप्टर प्रयोग गर्नुपर्ने परिस्थितिलाई शुन्य बनाउन सकिदैन त्यसैले गाउँपालिका भित्र आवश्यक हेलिप्याडको आवश्यकता र सम्भाब्यता दुबैको अध्ययन गरिने छ।
- जटिल रोगीलाई दिईने सेवा सुविधालाई निरन्तरता दिएको छु ।
- गाउँघर क्लिनिक तथा खोप क्लिनिक नियमित संचालन गरिनेछ ।
- स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन स्वास्थ्यकर्मीहरुलाई नियमित तालिमको व्यवस्था गरिनेछ ।
- महिला स्वास्थ्य स्वयंसेविकाहरुको कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
- प्रसुती घरभेट कार्यक्रमलाई प्रभावकारी बनाईनेछ ।
- प्रसुती प्रतिक्षालय गृह संचालन गरिनेछ ।
- अस्पताल तथा स्वास्थ्य संस्थाहरु मार्फत आकस्मिक औषधी वितरणको व्यवस्था मिलाएको छु ।
- आयुर्वेद सेवालाई निरन्तरता दिन आवश्यक औषधी तथा अन्य सामाग्रीहरुको व्यवस्था मिलाएको छु ।
- पूर्णखोप सुनिश्चित गाउँपालिका कायम गरिनेछ ।
- विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरिनेछ ।
- पोषणमैत्री स्वास्थ्य संस्थाको अवधारणालाई अघी बढाईनेछ ।
- स्वास्थ्य संस्थाहरुबाट वितरण हुने ९८ प्रकारका निशुल्क औषधीहरुको उपलब्धता सुनिश्चित गरिनेछ ।
- स्वास्थ्य आमा समुहको परिचालन तथा समुहको बैठक संचालनको लागि प्रत्येक आमा समूहहरुमा स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।
- सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा न्युनतम सेवा मापदण्ड कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिनेछ ।
- महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि RRT समूह गठन गरि परिचालन गरिनेछ ।
- मानसिक स्वास्थ्य तथा नसर्ने रोगहरु सम्बन्धी कार्यक्रमहरु संचालन गरिनेछ ।
- नेत्रावाती डबजोङ अस्पताललाई ARV साइट सूचीकरण गरि रेबिज भ्याक्सिन सेवा उपलब्ध गराईनेछ ।
- वृद्धि अनुगमन सेवा गाउँघर क्लिनिक तथा खोप क्लिनिकबाट प्रभावकारी रुपमा संचालन गरिनेछ ।
- विद्यालय खाजाको अनुगमन गरि पोषणमैत्री खाजा बनाउन उत्प्रेरित गरिनेछ । बिध्यालय खाजा कार्यक्रममा स्थानिय अर्गानिक खाध्यान्नको प्रयोगलाई प्रोत्साहन गरिने छ। यो कार्यले बालबालिकाको स्वास्थ्यको गुणस्तर सुधारहुनुका साथै स्थानीय कृषि उपजको बजार बिस्तार हुने अपेक्षा लिएको छु।
- सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुमध्येबाट उत्कृष्ट स्वास्थ्यकर्मी छनौट गरिनेछ ।
- नेत्रावाती डबजोङ अस्पतालबाट गुणस्तरीय X-ray सेवा संचालन गरिनेछ ।
- नेत्रावती डबजोङ अस्पतालमा फार्मेसी सञ्चालन गर्नलाई विउपूँजी उपलब्ध गराईनेछ ।
लक्षित वर्ग (महिला, बालबालिका तथा अन्य)
- योजना तर्जुमा, कार्यान्वयन नीति निर्माणमा महिला, दलित, जनजाती, बालबालिका, अपांग, अल्पसंख्यकको अर्थपूर्ण सहभागिताको नीति लिईनेछ ।
- बालविवाह, बहुविवाह जस्ता सामाजिक विसङ्गतिलाई न्यूनीकरण गर्नको लागि तथा लैङ्गिक समानता, छुवाछुत तथा जातीय विभेदमुक्त गाउँपालिका निर्माणका लागि सामाजिक समावेशीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।
- हिंसामा परेका व्यक्तिहरुका लागि पुनःस्थापना केन्द्रको स्थापना र अस्थायी रुपमा आश्रय दिई उनीहरुको क्षमता विकास गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउने एवं सम्भव भएसम्म परिवारसँग पुनर्मिलन गराउनका लागि समन्वय र सहकार्य गरिनेछ ।
- स्थानीय तहमा न्यायीक समिति मार्फत निरुपण हुने विवादहरु छिटोछरितो रुपमा कार्यान्वयन गरिने व्यवस्था मिलाईनेछ । साथै ईजलास कक्षलाई अझ व्यवस्थित बनाईनेछ ।
- दलित एवं पछाडी परेका वर्गको हक अधिकारको प्रवर्द्धन एवं उत्थानका लागि परम्परागत पेशा संरक्षण सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- महिलाहरुलाई सक्षम तथा आयआर्जनमुखी बनाउनका लागि सीपमुलक तालिम कार्यक्रमलाई निरन्तरता दिएको छु, साथै विभिन्न दिवस तथा पर्वहरुको अवसरमा महिला, बालबालिका, पिछडिएका वर्ग, क्षेत्र, समुदाय र ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- आमाबावु विहिन बालबालिकाहरुका लागि मासिक २००० को दरले दिईने भत्तालाई निरन्तरता दिईनेछ ।
- निर्माण हुने भौतिक संरचानाहरु अपांगमैत्री बनाइनेछ साथै अपांगता भएका व्यक्तिहरुलाई जिविकोपार्जनमा टेवा पुर्याचउने कार्यक्रमहरु सञ्चालन गरिने छ ।
- टोल टोलमा गई अपांग परिक्षण गरी ‘क’ र ‘ख’ वर्गका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्तामा समावेश गरिनेछ ।
- महिला बालबालिका तथा ज्येष्ठ नागरिकसँग उपाध्यक्ष कार्यक्रम सञ्चालनलाई निरन्तरता दिएको छु ।
- संघ तथा प्रदेशसँग सहकार्य गरी स्थानीय तहबाट समेत लागत साझेदारी व्यहोर्ने गरी सीप विकास तालिमहरु सञ्चालन गरिनेछ ।
उद्योग तथा व्यापार
- स्थानीयहरुको परम्परा पेशालाई संरक्षण र व्यवसायिककरण गर्न आवश्यक तालिमलाई निरन्तरता दिईने छ। परम्परागत पारिवारिक पेशालाई आफ्नो रोजगारीको माध्यम बनाउन चाहने लक्षित बर्गका नागरिकहरुलाई प्रोत्साहनको ब्यवस्था गरिने छ।
- गाउँपालिकाभित्र उत्पादन हुने तरकारी तथा फलफूलको भण्डारण गरी बजारीकरणमा जोड दिईनेछ । सम्पूर्ण कृषि फर्म, समूहहरुलाई कृषि उत्पादनमा केन्द्रित हुन आव्हान गरिने छ ।
- गाउँपालिकाभित्रका उद्योग, व्यापार, व्यवसायहरुलाई अनिवार्य दर्ता तथा नविकरण गरी करको दायरामा ल्याइने छ ।
- आ.व. २०८०।०८१ मा गाउँपालिका तथा वडा कार्यालयहरुमा बुझाउनु पर्ने मालपोत कर बाहेक अन्य करहरु आ.व. २०८१।०८२ को पुष मसान्तभित्र बुझाउदा जरिवाना नलाग्ने व्यवस्था मिलाएको छु ।
वातावरण तथा विपद व्यवस्थापन
- प्लास्टिकको प्रयोग नियन्त्रण गर्न स्थानिय कार्यविधि बनाई लागु गरिने छ।
- विकास कार्यहरु सञ्चालन गर्दा दिगो विकासको अवधारणा अनुरुप वातावरणीय पक्षको मूल्याङ्कन गरी विकासका कार्य गर्ने नीति अवलम्बन गरिनेछ ।
- बाढीपहिरो नियन्त्रणको लागि जोखिमयुक्त ठाउँमा बिरुवा रोप्ने तथा बाढी पहिरोले हुने भु-क्षय नियन्त्रण गर्न र जोखिमयुक्त बस्तीमा नदि खोला नियन्त्रणको लागि आवश्यक तटबन्ध निर्माण कार्यलाई प्राथमिकतामा राखेको छु ।
- स्थानीय विपद व्यवस्थापन समितिलाई क्रियाशिल बनाई विपद्को बेला आवश्यक पर्ने सामाग्रीहरु भण्डार गर्ने व्यवस्था, साथै गाउँपालिकाभित्र कुनै पनि विपद् आइपरेमा त्यसलाई तत्काल व्यवस्थापन गर्न आवश्यक सामानको जोहो गरी उद्धार तथा राहतको व्यवस्था गरिनेछ ।
- गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण पानीको स्रोतको सर्भे एवं संरक्षण गर्ने नीति लिई आवश्यक सूचना संकलन गरिनेछ । साथै भू-क्षय, बाढी, पहिरो, आगलागी, डढेलो नियन्त्रणका लागि विभिन्न संघ संस्थाहरुसँगको समन्वयमा कार्यक्रम सञ्चालन गर्न विशेष पहल गरिनेछ ।
- सार्वजनिक जग्गामा वृक्षारोपण गर्ने नीति लिई वातावरण संरक्षण तथा गाउँपालिका क्षेत्रभित्रका खोला तथा पानीका मुहान, ताल, पोखरी, कुवा, धारा आदीको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
- पूर्ण सरसफाई र फोहोरमैला व्यवस्थापन सम्बन्धी क्रियाकलापहरु संचालन गरिनेछ । साथै फोहोरमैलालाई वर्गीकरण थ्री (3) आरको अवधारणा (Reduce, Reuse and Recycle) अनुरुप घरपरिवार तथा टोलबाट नै व्यवस्थापन गर्न उत्प्रेरित गर्ने कार्यलाई अभियानका रुपमा ल्याईनेछ । र फोहोरमैला व्यवस्थापन गर्नका लागि टोलटोलमा डस्बिन राख्ने व्यवस्था मिलाईने छ ।
- वातावरणमैत्री स्थानीय शासनका सूचकहरुलाई अवलम्बन गरी वातावरण बचाउ अभियान सञ्चालन गर्नुका साथै वातावरणमैत्री गाउँ बनाउन आवश्यक पर्ने स्रोत साधन तथा प्राविधिक सहयोगलाई संघ र प्रदेशसँग सहकार्य तथा साझेदारीमा विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- सरकारी खाली जग्गा जमिन, सार्वजनिक वन क्षेत्र वा नीजि वन क्षेत्र भाडामा लिई सौर्य बत्ति उत्पादन गर्ने फर्म वा व्यक्ति आएमा आवश्यक सहकार्य र समन्वय गरी कार्य अगाडी बढाईने छ ।
- ठूला पहिरो जाने स्थानहरुमा संघ, प्रदेश सरकारसँग आवश्यक समन्वय गरी नियन्त्रणका लागि पहल गरिनेछ ।
सूचना तथा सञ्चार प्रविधि,संस्थागत सेवा प्रवाह र सुशासन
- गाउँपालिका,वडा कार्यालय, अस्पताल, स्वास्थ्य चौकी र इकाइहरुमा कार्यरत करारका कर्मचारीहरुको तलबमानमा एकरुपता ल्याइनेछ ।
- गाउँपालिका र वडा कार्यालयहरुमा कार्यरत सबै करार तथा ज्यालादारी सेवाका कर्मचारीहरुलाई क्रमश कर्मचारी कल्याणकारी कोषमा आवद्ध गरिनेछ ।
- गाउँपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ,निष्पक्ष, पारदर्शी र सेवामैत्री बनाई महत्त्वपूर्ण जिम्मेवारीमा रहेका कर्मचारिहरुसँग कार्यसम्पादन करार सम्झौता गरी नतिजामा आधारित कार्यसम्पादन प्रणाली अवलम्बन गरिनेछ ।
- गाउँपालिकाको संगठन संरचनालाई आवश्यकता बमोजिम पुनरावलोकन गरी सबै तहका कर्मचारीहरुको कार्य विवरण बनाई लागू गरिनेछ । कर्मचारीको कामको मूल्यांकन गरी पुरस्कार र दण्डको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।
- तामाङ समुदायहरुको रितिरिवाज तथा सँस्कृतिलाई संरक्षण र प्रबर्द्बन गर्नका लागि ल्होसार कार्यक्रमलाई निरन्तरता दिएको छु ।
- गाउँपालिका र वडा कार्यालयहरु निर्माण गर्नका लागि जग्गा दान गर्ने जग्गा दाताहरुलाई सम्मान गरिनेछ ।
- नेत्रावती गाउँबासीहरुलाई गाउँपालिकाबाट प्रवाह भएका सेवा, विकास निर्माण र अन्य गतिविधिहरुको जानकारी दिन तथा राय, सल्लाह र सुझाव लिनको लागि जनतासँग अध्यक्ष रेडियो कार्यक्रम, जनप्रतिनिधिसँग टि.भि. कार्यक्रम र नेत्रावती दर्पण कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
- अध्यक्ष कप फुटबल प्रतियोगितालाई निरन्तरता दिएको छु ।
- गाउँपालिकाको गतिविधि पारदर्शी तथा पहुँच योग्य र समय सापेक्ष विद्युतीय मैत्री सुशासन कायम गर्न रिम्स, सुत्र, पाम्स, घटना दर्ता तथा सामाजिक सुरक्षा सफ्टवेयर प्रयोगलाई निरन्तरता दिइनेछ ।
- बायोमेट्रिक प्रविधिको प्रयोग मार्फत घटना दर्ता तथा सामाजिक सुरक्षालाई अझ बढी प्रभावकारी बनाईनेछ ।
- गाउँपालिका, वडाहरु, स्वास्थ्य संस्थाहरुमा Internet तथा Internet को क्षमता विस्तार गरि दैनिक प्रशासनिक कार्यलाई प्रविधमैत्री बनाउदै लगिनेछ ।
- गाउँपालिका, वडाहरु, बजार क्षेत्रहरु र मुख्य मुख्य सडकहरुमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउनका लागि सि.सि.टि.भि. तथा सौर्य उर्जा जडान कार्यलाई निरन्तरता दिईनेछ ।
- सूचना प्रविधिको प्रयोग मार्फत सार्वजनिक सेवालाई प्रविधिमैत्री, पारदर्शी, प्रभावकारी र सरलिकृत बनाईनेछ ।
- गाउँपालिका, वडा कार्यालय र सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुलाई काम प्रति अझ बढी उत्तरदायि बनाउनको लागि विद्युतिय-हाजिरी लागू गरिनेछ ।
- सामाजिक सुरक्षा भत्ता वितरण पारदर्शी गर्न बैंकिङ्ग प्रणालीबाट नियमित भुक्तानी दिने व्यवस्थालाई निरन्तरता दिई नागरिकको सहजतालाई विशेष ध्यान दिइनेछ ।
- ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुलाई घरदैलोमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ ।
- छिमेकी गाउँपालिकासँग भगिनी सम्बन्ध राख्ने नीति लिएको छु ।
- अन्तराष्ट्रिय संघ संस्थाहरुसँग परामर्शको लागि सहकार्य र समन्वय गरिनेछ ।
- नेत्रावती डबजोङ गाउपालिकाभित्रका कला संस्कृति र भौगोलिक सौन्दर्य प्रचारप्रसार हुने खालका चलचित्र तथा म्युजिक भिडियो उत्पादन कार्यलाई प्रोत्साहन गरिने छ। यस कार्यले पालिकाको बारेमा प्रचार प्रसार हुन गई आन्तरिक पर्यटनमा टेवा पुग्नुका साथै रोजगारीका अबसरहरु सृजना हुने अपेक्षा लिएको छु।
अन्त्यमा गाउँपालिकाको नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, कर्मचारीहरु, शिक्षकहरु, विद्यार्थीहरु, अभिभावकहरु, सरकारी निकायहरु, राजनीतिक दलहरु, सामाजिक संघ संस्थाहरु, वित्तीय तथा सहकारी संस्थाहरु, साझेदारी संस्थाहरु, नागरिक समाज, पत्रकार मित्रहरु, सम्पूर्ण सुरक्षाकर्मीहरु लगायत सम्पूर्ण सुभेक्षकहरुको सदभाव सहभागिता, सहयोग रहने छ, भन्नेोपूर्ण विश्वाुस लिएको छु, नीति तथा कार्यक्रम तथा बजेट निर्माण र प्रभावकारी कार्यान्वयन मार्फत विकासका लक्ष्य हासिल गर्न रचनात्मक सहयोगको निरन्तर अपेक्षा राख्दै सम्पूर्ण गाउँपालिकाबासी एवम् सबै सरोकारवालालाई हार्दिक धन्यवाद एवम् आभार प्रकट गर्दछु ।