
धादिङ
नीलकण्ठ नगरपालिकाले युवासँग उपप्रमुख कार्यक्रमअन्तर्गत युवा,सिप,तालिम तथा रोजगार मेला सञ्चालन गर्ने भएको छ ।नगरपालिकाले पत्रकार सम्मेलन गर्दै यहि असार १४ गते रोजगारदाता र रोजगार चाहने श्रमिक युवाबीच समन्वय गराउने उद्देश्यले सो कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिएको हो ।नीलकण्ठ नगरपालिकाका उप–प्रमुख दिपक विश्वकर्माले श्रमिकले रोजगारी नपाउने र रोजगारदाताले श्रमिक नपाउने अवस्थालाई अन्त्य गर्न युवा, सीप, तालिम तथा रोजगार मेलाको आयोजना गरिएको बताउनुभयो ।उहाँले एकतर्फ देशमा रोजगारीको सुनिश्चितता भएन भनेर विदेशिनेको लर्को बाक्लो रहेको र अर्कोतर्फ रोजगारदाताले श्रमिक नपाएर अन्यत्रबाटै श्रमिक भित्र्याएको बताउनुहुदै श्रमिक र रोजगारदाताबीच समन्वय गराउने र बेरोजगारी न्यूनिकरण गर्न मेलाले सहयोग गर्ने बताउनुभयो ।उहाँले हातमा सिप हुनेलाई रोजगारीको अवसर प्रदान गर्न, सफल व्यवसायी र विषय विज्ञसँग अन्तरसंवाद गर्न, रोजगारी खोज्ने र दिनेहरुकाबीच नवप्रवर्तन र स्वव्यवसाय विकासलाई प्रवद्र्धन गर्न यो मेला कोशेढुंगा सावित हुने विश्वास रहेको बताउनुभयो ।जिल्लाको सदरमुकाम धादिङबेशीमा रहेको नीलकण्ठ बाल मन्दिर माध्यामिक विद्यालयमा हुने मेलामा सरकारी, नीजि, गैरसकारी क्षेत्रका रोजगारी, सिप, तालिम, व्यवसाय तथा समग्र श्रम सम्बन्धी १४ ओटा स्टल रहने नीलकण्ठ नगरपालिकाका प्रवक्ता प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । मेलामा धादिङ उद्योग वाणिज्य संघ, चेम्वर अफ कमर्श, होटल संघ, उद्योग तथा वाणिज्य कार्यालय, कृषि विकास तथा पशुसेवा कार्यालय, उद्यमशीलतामा काम गर्ने विभिन्न संस्थाहरु, व्यावसायिक तथा सीप विकास तालिम केन्द्र लगायतले स्टल राखेर रोजगारी सम्बन्धि परामर्श दिने उहाँले बताउनुभयो ।असार १४ गते हुने एक दिने युवा सिप, तालिम तथा रोजगार मेलाले रोजगारीको खोजीमा रहेका विविध क्षेत्रका युवाहरुलाई रोजगारदातासँग जोड्न, उद्यमशीलता तथा रोजगारका कैयन अवसरका बारेमा ज्ञान दिइने प्रवक्ता श्रेष्ठले बताउनुभयो । उहाँले मेलाले नगर भित्रका युवाहरुलाई स्वदेशमा नै रोजगार प्राप्त गर्न पहुँच योग्य बनाउने र सिप तालिम लिन इच्छुकहरुलाई एकद्धार प्रणालीबाट फारम भराई आगामी वर्षमा सिप तालिम दिन सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको र जसरी भएपनि नीलकण्ठ नगरपालिकाको प्राथमिकता रोजगारीको सुनिश्चितता नै भएको बताउनुभयो ।