
धादिङ
बेनिघाट रोराङ गाउँपालिकाले आ.व.२०८१/८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष बिवेक थपलियाद्वारा घोषणा गरिएको नीति तथा कार्यक्रमले बिशेष गरी युवालाई कृषिमा आकर्षण गराउन, युवा स्वरोजगार र युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । अध्यक्ष थपलियाले सबै वडामा रोजगारी सिर्जना गर्न युवा रोजगार कार्यक्रम देखि क्षमताअनुसार स्वरोजगार बनाउने, पदमार्ग, पर्यटकीय क्षेत्रको विकास, शिक्षाका गुणस्तर सुधार एवं सामाजिक सुरक्षाको क्षेत्रमा संचालित कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभएको छ । गाउँपालिकाले गाउँहरु खाली भएको र कृषिमा परनिर्भरता बढ्दै गएको बेला घरघरमै करेसाबारी अभियानदेखि आत्मनिर्भरतातर्फ अगाडी बढाउँदै कृषिमा बिशेष अनुदान र सहयोग गर्ने जनाएको छ । पर्यटकीय क्षेत्र समेटिएको पालिकाले होटल र रेष्टुरेण्टमा हुने अनुगमनलाई तिब्र बनाउँदै स्वच्छता तथा गुणस्तरमा ख्याल गरिने बताउनुभयो ।यसैगरी प्रसिद्ध पर्यटकीय गाउँमा फोटो सुट केन्द्र स्थापना गर्ने र सो गाउँलाई सांस्कृतिक गाउँको रूपमा घोषणा गर्नका लागि आवश्यक पूर्वाधार संरचनाहरु निर्माण गरी परम्परागत सांस्कृतिक गाउँ बनाउने पालिकाको घोषणा छ । गाउँपालिकामा सङ्घीय सरकारबाट सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रभावकारी तुल्याउँदै त्यस क्षेत्रमा कृषिको विशेष पकेट क्षेत्र स्थापना गर्ने नीति अङ्गिकार गरिने गाउँपालिकाले जनाएको छ ।
Source:pradeshhub