नीलकण्ठ नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु


  • दिव्यदर्शन
  • आइतबार, बैशाख ३० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ
नीलकण्ठ नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ ।
सरकारले नीलकण्ठसहित देशभरका अन्य पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ । नगरपालिकाले अबको पाँच वर्षमा नीलकण्ठलाई क्षयरोगमुक्त बनाउने गरी काम थालेको छ । क्षयरोग निवारणका लागि धादिङका नीलकण्ठ नगरपालिका मात्र छनोट भएको छ । स्थानीय साधन र स्रोतको प्रयोग गरेर क्षयरोग निवारणका लागि पहिलो चरणमा नीलकण्ठले वडास्तरिय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी गरी काम गर्न थालेका छ । क्षयरोग मुक्त पालिका बनाउन प्रतिवर्ष प्रति १० लाखमा १ भन्दा कम बिरामी भएमा अन्त्य भएको मानिनेछ । क्षयरोग निवारणका लागि स्थानीय पालिकामा नगरप्रमुखको संयोजकत्वमा नगर उपप्रमुख, वडाध्यक्ष, शिक्षक, स्वास्थ्य संस्थाका कर्मचारीलगायतको टोली र वडास्तरमा समेत समिति गठन गरी काम सुरु गरिएको छ । कार्यक्रमअन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने, घोषणा गर्ने, घरधुरी सर्वेक्षण गर्ने, शंका लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठनलगायतका कार्य थालेको छ । नगरपालिकाले पाँच वर्षमा क्षयरोग मुक्त गर्ने गरी पञ्चवर्षीय योजना बनाएर काम थालेको छ । सरकारले दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्म नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानअन्तर्गत थालेको छ । नगरपालिकाले भने वडा नं ३ बाट अभियान सुरु गरेको छ ।गरिबी, बसाइँ सराइलगायतका समस्याका कारण क्षयरोग फैलँदै गएको छ । स्वास्थ्य संस्थामा यसको उपचार निःशुल्क हुन्छ । स्वास्थ्य संस्थाले हरेक वर्ष क्षयरोग फैलन नदिन खोजपड्ताल कार्यक्रम गर्ने, क्षयरोगीको सम्पर्क र आसपासमा रहेकालाई परीक्षणको दायरामा ल्याउने कार्य गर्दै आएका छन् ।सबै क्षयरोगका बिरामीको पहिचान गरी उपचारको दायरामा ल्याएर क्षयरोगको अन्त्य गर्न सकिने भए पनि अझै जनचेतनाको कमी, रोग लुकाउने, नियमित औषधि सेवन नगर्ने कारणले क्षयरोग निवारणमा समस्या भएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु रिजालले बताउनुभएको छ । क्षयरोगका कारण हुने मृत्युदर घटाउन समयमै क्षयरोगको पहिचान आवश्यक रहेको जनस्वास्थ्य कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख विभु कुमार झाको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web