
धादिङ
वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनासँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले धादिङको धुनीवेशी नगरपालिका–४ का ३१ वर्षीय जीवा गौतम भनिने रमेश बयलकोटी र कालीकोट छाप्रेका २७ वर्षीय दर्शन नेपालीलाई पक्राउ गरेका छन् ।उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले वैदेशिक रोजगारीमा पठाउने भन्दै ४२२ जनाबाट कुल ३ करोड रुपैयाँ लिएर विदेश नपठाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी साुनराम भट्टराईले बताउनुभयो । बुल्गेरिया, न्युजिल्याण्ड, रोमानिया, सर्बिया, क्रोएसियालगायतका देशहरुमा पठाउने भन्दै उनीहरुले प्रतिव्यक्ति १० देखि १४ लाख रुपैयाँसम्म लिएको पाइएको उहाँले जानकारी दिनुभयो ।उनीहरुले कुखुरा फार्म सञ्चालन गरेका व्यक्तिको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको छ । २०८० को असोजमा कीर्तिपुरमा कुखुरा फार्म सञ्चालन गर्ने कीर्तिपुर नगरपालिका–६ का ललितजंग बमसँग बयलकोटीको सम्पर्क भएको थियो ।बयलकोटीले आफ्नो समेत गोदावरीमा ३२ रोपनी जग्गा रहेको फार्म सञ्चालनका लागि मान्छे चाहिएको भन्दै बमसँग सम्पर्क अघि बढाएका थिए ।फार्म सञ्चालन भन्दा पनि कन्सल्टेन्सी खोलेर नाफा बाँडौं भन्दै बमको नाममा कन्सल्टेन्सी दर्ता गराएर ठगी गरेको खुलेको एसएसपी भट्टराईले बताए ।यो गिरोहमा रहेर ठगी गर्नेहरु केही भने भारतमा बसेर योजना बनाउने गरेको प्रहरीको दाबी छ । विदेश जानेहरुबाट सुरुमा ५० हजार लिएको र अफर लेटर आएपछि १ लाख ५० हजार, वर्क परमिट आएपछि २ लाख लाग्छ भन्दै रकम माग गरेको पाइएको प्रहरीको भनाइ छ । यो गिरोहबाट ठगीमा पर्नेहरु अझै धेरै हुन सक्ने प्रहरीको अनुमान छ ।कुखुरा फार्म सञ्चालन गरेका बमको नाममा भिसा प्लस प्रालि कन्सल्टेन्सी दर्ता गराई उनकै खाता प्रयोग गरी ठगी गरेको खुलेको छ । बमको नाममा रकम आएपछि चेक काट्न लगाई लक्षिन्द्र बहादुर शाहीको खातामा जम्मा गरी निकाल्ने गरेको पाइएको एसएसपी भट्टराईले बताए ।विदेश जानका लागि उनीहरुले रकम शुल्कहरुको विवरण समेत तोकेका थिए । न्युजिल्याण्डका लागि १६ लाख, बुल्गेरिया र रोमानियाका लागि ७ लाख, क्रोएसियाका लागि १२ लाख लाग्ने भन्दै उनीहरुले रकम उठाएका थिए ।उनीहरुबाट ८४ थान राहदानी र १८२ जनाको विवरण राखिएको फाइल पनि प्रहरीले बरामद गरेको छ ।
Source:Htpkhabar