धादिङ
लामो समय देखि खुम्रेकिराको प्रकोपका कारण खाद्य अभाव झेलिरहेका गजुरी गाउँपालिका ३ पुराक्सिङवासीको सवाल सम्वोधन गर्न वारीमा बत्ती जडान गरिएको छ ।
गजुरी गाउँपालिकाको आर्थिक सहयोग, कृषि शाखाको प्राविधिक सहयोग तथा फियान नेपालको सहकार्यमा बाँच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने नाराका साथ पुराक्सिङ खाद्य अधिकार प्रभावित समूहको पैरवी योजना तर्जुमा तथा सवाल हस्तान्तरण र लाईट ट्रयाप कार्यक्रमको उद्घाटन गर्नुहुँदै गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले निर्वाचित हुने बित्तिकै गजुरी ३ को पुराक्सिङमा पिछडिएको चेपाङ र तामाङ जातिको ३२ घर धुरीलाई बिजुली बत्ती बाल्न पहल गरेर सफल भएको र खुम्रेकिरा नियन्त्रणका लागि गा.पा. बाट पाँच लाख बजेट छुट्याएर काम गरेको धादिङ जिल्लामै पहिलो कार्यक्रम गजुरी गाउँपालिकाले गर्न सफल भएको बताउनुभएको छ ।बुधवार साँझ एक कार्यक्रमका वीच खुम्रेकिराको प्रकोप नियन्त्रण गर्न विद्युतिय पासो जडान गरिएको हो। आफु निर्वाचित भएपछि फियान नेपाल मार्फत खुम्रेकिराको प्रकोप का कारण पुराक्सिङ मानिसहरु खाद्य संकटमा परेहको र उनीहरुको खाद्य अधिकार गुमेको जानकारी पाएपछि स्थलगतरुपमा अनुगमन अन्तरक्रिया गरेर बजेट व्यवस्थापन गरेको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।गजुरी स्थानीय सरकर जनताको सवालमा काम गर्ने भएकाले खुम्रेकिरालाई विद्युतिय पासो मार्फत नियन्त्रण गर्ने काम गरेको र यसको निरन्तरताका लागि आगमी वर्ष पनि बजेट व्यवस्था गर्ने उपाध्यक्ष सर्मिला विसुरालले बताउनु भयो । विद्युतीय पासो अर्थात बत्तीमा खुम्रेकिराको माउ खपटे किरा आउने र बेगमा आएको खपटे बत्तीमा ठोकिने वा पखेटा जलेर भुईमा खस्ने भएकाले बत्तीको बाटामा पानी राखेर किरा पार्न निरन्तर कार्य गरिरहनु पर्ने भएकाले जग्गाधनीले विषेष ध्यानपूर्वक काम गर्नुपर्ने कृषि प्राविधिक अहोक श्रेष्ठले जानकारी दिनु भयो। ३२ घर परिवार रहेको पुराक्सिङमा खुम्रेकिरा नियन्त्रण गर्न १६० वटा विद्युतीय पासो जडान गरिएको बारीका पाटामा बत्ती बालिएको छ । खुम्रेकिरा प्रकोपका सवाल सम्वोधन भएको भन्दै समूहले सवालको उठान गर्ने संस्था फियान नेपाल, समाचार सम्प्रेषण गर्ने पत्रकार, बजेट व्यवस्थापन गर्ने गाँउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा नं. ३ का वडा अध्यक्ष र गाँउपालिकालाई सम्मानपत्र प्रदान गरेको छ ।