
धादिङ
धादिङको नीलकण्ठ बहुमूखी क्याम्पसमा अन्तराष्ट्रिय गणित दिवस तथा पाई डे मनाइएको छ ।

नीलकण्ठ नगरपालिका वडा नंं.३ मा अवस्थित जिल्लाको एक मात्र QAA मान्यता प्राप्त क्याम्पसका बि.एड.चौथो बर्षमा अध्ययनरत गणित संकायका बिद्यार्थीहरुको आयोजनामा आज बिहिबार एक कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको हो ।

मार्च १४ मा वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसरमा क्याम्पस प्रमुख नवराज शर्माको प्रमुख आतिथ्यता र गणित,स्वास्थ्य तथा साधारण शिक्षा बिभागका बिभागिय प्रमुख हरि लम्सालको अध्यक्षतामा गणितप्रतिको सचेतना फैलाउने, गणितको भूमिका र महत्व दर्शाउने,गणित बिषयमा विद्यार्थीको अभिरुचि जगाउने, उनीहरुलाई गणित विषय अध्ययनको लागि प्रेरित गर्ने उद्देश्यका साथ सो कार्यक्रम आयोजना गरिएको हो ।कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै सहायक क्याम्पस प्रमुख डा. मुरारी अधिकारीले गणित शिक्षा मानव जीवनको हरेक ब्यावहारिकतामा प्रयोग हुने र गणितको महत्व रहेकाले बिद्यार्थी संङख्या कम हुँदा पनि क्याम्पसमा सो संकाय सञ्चालन गरिरहेको र यसलाई निरन्तरता पनि दिने बताउनुभयो ।

त्यस्तै सहायक क्याम्पस प्रमुख देवी अधिकारीले बर्तमान अवस्थामा गणित शिक्षक उत्पादन गर्ने जिल्ला सदरमुकाममा नीलकण्ठ बहुमुखी क्याम्पस मात्र रहेको र यस्ता खालका कार्यक्रम बाहिर पनि प्रदर्शन गर्न सके अझ गणितप्रति रुचि बढ्ने धारणा राख्नुभयो ।

मानव जीवनलाई सहज बनाउने क्रममा नै पाइ को पनि जन्म हुदै आएको र यसको इतिहास हेर्ने हो भने ४००० बर्ष पहिलेदेखि सुरुवात भएको देख्न सकिने बिभागिय प्रमुख हरि लम्सालले बताउनुभयो ।

सन् २०१९ मा युनेस्कोको ४० औँ साधारण सभाले पाइ डेलाई अन्तराष्ट्रिय गणित दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । पहिलो अन्तराष्ट्रिय गणित दिवसको नारा [Math Is Everywhere]रहेको थियो ।यसबर्ष २०२४ को नारा Playing With Math रहेको छ ।

