धादिङ
नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म शुरु गरेको पदयात्रा धादिङको नेत्रावती डबजोङ गाँँउपालिकाको चरङगे, भर्याङभुरुङ हुदै नुवाकोट प्रस्थान गरेको छ ।
ऐतिहासिक महत्त्वको एकीकरण अभियान हर्सोल्लासकासाथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको नेपाली सेनालाई आज सोमबार नेत्रावती डबजोङ गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी लगायतले स्वागत गर्नुभएको छ ।
सेनाले २०७६ सालदेखि हरेक वर्ष पृथ्वीजयन्तीको अवसरमा गोरखादेखि काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । गोरखा दरबारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वीजयन्तीको दिन यही २७ गते शुक्रवार काठमाण्डौ पुग्ने छ । पदयात्रामा बाजागाजासहित पृथ्वीनारायण शाहकालीन सेनाको पोसाकमा रिपुमर्दन गण र शार्दुलजंग गुल्मका सेना सहभागी रहेका छन् ।
टर्चसहित नेपालको झण्डा र पृथ्वीनारायण शाहको पालामा स्थापना भएका सेनाका प्रथम पाँच कम्पनीका झण्डा पनि समावेश गरिएको छ। पृथ्वीनारायण शाहको पालामा श्रीनाथ, कालिबक्स, पुरानो गोरख, बर्दवाणी र सबुज नाममा ५ कम्पनी स्थापना भएका थिए ।तत्कालीन कम्पनीहरु अहिले पनि सेनाको गणका रुपमा रहेका छन् । पदयात्राका क्रममा गोरखाको रिपुमर्दन गणको टोलीले नेपाली सेनाको धादिङको शिवदल गण, धादिङले नुवाकोटको जबरजंग गण र नुवाकोटमा तैनाथ नेपाली सेनाको टोलीले काठमाण्डौको कालीध्वज गणलाई टर्च, राष्ट्रिय झण्डा र सेनाका ५ कम्पनीको झण्डा हस्तान्तरण गर्नेछ । काठमाण्डौको गणले पृथ्वीजयन्तीको दिन काठमाण्डौमा हुने कार्यक्रममा भाग लिने नेपाली सेनाले जनाएको छ ।सरकारले गोरखादेखि काठमाण्डौसम्मको पुरानो बाटोलाई एकीकरण पदमार्गका रुपमा विकास गर्न थालेको हो । गोरखाबाट धादिङ, नुवाकोट हुँदै काठमाण्डौबाट काभ्रेसम्मको झण्डै एक सय ९२ किलोमिटर बाटोलाई सरकारले एकीकरण पदमार्गको रुपमा प्रवर्द्धन गर्दैछ ।काठमाण्डौको हनुमानढोकाबाट गोरखा दरबार २६ कोषको दूरीमा छ । पदमार्ग आसपास ऐतिहासिक मठमन्दिर, गुम्बा, पाटीपौवालगायत सम्पदाहरु छन् । पदमार्गको धेरैजसो खण्डमा मध्यपहाडी राजमार्ग निर्माण भैरहेको छ । यसले ऐतिहासिक सम्पदा नासिने जोखिम पनि छ ।