नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु भएको छ ।
यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर सङ्कल्प यात्रा शुभारम्भ गर्नुभएको हो ।ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उहाँको भनाइ छ ।आजै बैतडी सदरमुकाम गोठालापानीमा आयोजना गर्न लागेको आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ । आजै बेलुका बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको छ ।झुलाघाटबाट शुरु भएको झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते चिवाभञ्ज्याङ पुग्नेछ । सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोबास गर्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल चलाउने, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने उद्देश्य रहेको नेताहरूले बताएका छन् ।