प्रेमिका हत्या गरी ६ बर्षदेखि फरार रहेका प्रतिवादी पक्राउ


  • दिव्यदर्शन
  • सोमबार, असोज ८ २०८०
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ,८ असोज ।
प्रेमिकाको हत्या गरेको आरोपमा सप्तरी काचन (साविक काचन गाविस–६) का ३५ वर्षिय अरुण कुमार मिझारलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धाको प्रतिवादी मिझारलाई यहि असोज ५ गते सप्तरी काचन वोदेबर्साइन नगरपालिका–८ काचनबाट पक्राउ गरिएको पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । मोरङ विराटनगर महानगरपालिका–५ की ३२ वर्षिय ललिता कुमारी रामको हत्या गरी फरार रहेका मिझारलाई ६ वर्षपछि पक्राउ गरिएको हो । ‘ललिता २०७४ भदौ २१ गते मोरङबाट काठमाडौ आएको परिवारले जानकारी दिएका छन् । धादिङको धुनीवेशी नगरपालिका–९ टायलघरस्थित पृथ्वी राजमार्ग अधेरीखोलामा २०७४ असोज १२ गते साँझ वेवारिसे दुर्गन्धित अवस्थामा उनलाई मृत भेटिएको थियो । उनले लगाएको कपडा चप्पल हेरी उनका भाइले मृतक ललितालाई पहिचान गरेको हो ।’ एसपी मिश्रले भन्नुभयो– ‘मृतक ललिता पेशाले स्टाफ नर्स थिइन् । मृतकको मोवाइल तथा प्राविधिक अनुसन्धान पछि मृतक ललिता र प्रतिवादी मिझार प्रेम सम्बन्धमा रहेका थिए । उनीहरुविचको सम्बन्धबाट मृतक ललिता गर्भवती रहेको खुलेको छ । उनीहरुविच असमझदारीका कारण मिझारले हत्या गरेको पुष्टि भएको हो ।’
कानुनबाट बच्न मिझारले देशै छाडेर बस्दै आएको एसपी मिश्रको भनाई छ। मलेसिया, दुवई, भारत लगायतका मूलुकहरुमा लुकिछिपी बस्दै आएका थिए । उहाँले भन्नुभयो– ‘हाल नेपाल आएको समयमा प्रतिवादी मिझारलाई बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरको सहयोगमा सप्तरीबाट पक्राउ गरिएको हो । अहिले उनलाई धादिङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भैरहेको छ ।’

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web