धादिङ
धादिङको ज्वालामुखी गाउँपालिकाले उपभोक्ताको हकहितका निमित्त बजार अनुगमन थालेको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमन पण्डितको नेतृत्वमा बजार अनुगमन समितिका संयोजक सुजन श्रेष्ठ, अनुगमन समितिका सदस्यहरु,सुरक्षाकर्मी लगायतको टोलीले पालिकाको सदरमुकाम क्षेत्र साँधभन्ज्याङ र हुलाकभन्ज्याङका बजार क्षेत्रहरुबाट आज अनुगमन गरेको हो ।गाउँपालिका भित्र भित्रिने खाद्य वस्तुहरुको गुणस्तर,परिमाण र सेवा ग्राहीमा पार्ने प्रभावहरुलाई अनुकुल बनाउनुका साथै अखाद्य वस्तुहरुको उपभोगलाई निरुत्साहित गर्नको लागि बजार अनुगमन सुरु गरिएको स्वास्थ्य संयोजक तथा बजार अनुगमन टोलीका संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो । पालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने पनि उहाँले बताउनुभयो ।अनुगमनको क्रममा खाद्यन्न तथा किराना पसल, होटल, फेन्सी पसल, तरकारी, फलफूल, मासु, मिठाई पसल, डेरी,फार्मेसिहरुको दर्ता, नविकरण, गुणस्तर, आपूर्ति, मुल्य, नापतौलको परिक्षण गर्नुका साथै केही म्याद जुग्रेका केमिकल लगायतका सामाग्रीहरु जफत गरि नष्ट समेत गरिएको छ ।मूल्य सूची, साइनबोर्ड, व्यवसायदर्ता तथा नविकरण लगायतका नियमहरु पुरा नगरेका पसलहरुलाई तोकिएको समयभित्र पालिकामा उपस्थित भई निर्देशन पालना गर्न आग्रह समेत गरेको छ । गाउँपालिकाले बजार अनुगमन कार्यविधि २०८० स्वीकृत गरे बमोजिम बजार अनुगमन टोली गठन गरि आजदेखि बजार अनुगमन थालेको हो ।
source:radiodhading