
धादिङ,साउन २९
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा डेङगी रोगसम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजनामा स्वास्थ्यकर्मी एबम् सरोकारवालाहरुलाई सो अभिमुखीकरण प्रदान गरिएको हो । कार्यक्रममा डेङ्गी रोग के हो,कसरी सर्छ,लक्षण कस्तो देखिन्छ र यसबाट बच्न के गर्ने भन्ने बेनीघाट आधारभूत अस्पतालका डा. महेश श्रेष्ठद्धारा सहजीकरण गर्नुभएको बेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले जानकारी दिनुभयो ।

साथै संक्रमणदर बढ्दो क्रममा रहेकाले भोलि मंगलबार पालिकाभित्रका सम्पुर्ण सरकारी कार्यलय तथा स्वास्थ्य संस्था परिसरमा सरसफाई र लामखुट्टे खोज तथा नष्ट अभियान सञ्चालन गर्ने र यसलाई निरन्तरता दिदै जाने स्वास्थ्य शाखा प्रमुख तामाङले बताउनुभयो।

कार्यक्रममा बेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्म कुमार मल्लको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी,सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।
ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्दछ ।

डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगायतका हुन्।
स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।
नेपालमा विसं २०६१ मा पहिलो पटक देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।
