
धादिङ, साउन ३
धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर ६ का कोईराला टोल,कालीदेवी थान, खत्री टोल,मगर गाउँका १५० घरपरिवारलाई ३ हजार सुन्तलाको विरुवा निशुल्क वितरण गरिएको छ ।
धुनीबेसी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचार्यले नगरपालिकाको सुन्तला पकेट क्षेत्र कार्यक्रम अन्तर्गत पहिलो वर्ष ३ हजार विरुवा माग भए अनुसार वितरण गरिएको बताउनुभयो ।उहाँले यस कार्यक्रमलाई आगामी बर्षमा पनि थप्न निरन्तरता दिने र आवश्यक पर्ने सरसहयोग गर्न सदैव तप्पर रहने बताउनुभयो । यो क्षेत्रलाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरी आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षक गन्तव्य बनाउने नगरपालिकाको लक्ष्य रहेको छ । त्यस्तै सुन्तलाको विरुवा वितरण सँगै बिरुवाको अवस्थाबारे ध्यान दिन कृषि प्राविधिकहरुको निरन्तर सहयोग र निगरानी गरिने धुनीबेशी नगरपालिकाका कृषि शाखा प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो । सुन्तला पकेट क्षेत्र बनाउन नगरपालिकाले गरेको सहयोगले स्थानिय जनता पनि खुशी भएका छन् ।
