पालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल सरकारी गाडी चढ्दिन : पाण्डे


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १९ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

गुल्मी,वैशाख १९ । गुल्मीको छत्रकोट गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार रामप्रसाद पाण्डेयले गाउँपालिकामा नयाँ एम्बुलेन्सको व्यवस्था नहुन्जेल आफुले सरकारी गाडी प्रयोग नगर्ने घोषणा गरेका छन्। “मतदाताको विश्वास जित्दै आफु गाउँपालिका अध्यक्ष निर्वाचित भएर आएपछि पनि नयाँ एम्बुलेन्सको व्यवस्था जहिलेसम्म हुन्न उक्त अवधिसम्म मैले नियमानुसार पाउने गाडी सुविधा नलिने गरी निर्णय गरेको छु” उनले भने । “विरामी तथा अशक्तलाई लाई पहिलो प्राथमिकता दिनु मानवीय धर्म हो भन्ने लाग्छ ।”

उनी छत्रकोटमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार हुन् । हाल छत्रकोट गाउँपालिकामा एउटामात्र एम्बुलेन्स भएको र त्यो पनि पुरानो अवस्थामा रहेकोले तत्काल नयाँ एम्बुलेन्सको व्यवस्था गर्नु अहिलेको प्राथमिकता रहेको पाण्डेको भनाई छ ।

उनले यसअघि कोभिडकालमा पनि अशक्त तथा अत्यावश्यक विरामी बोक्न आफ्नो निजी गाडी प्रयोग गर्दै आएका थिए । कोभिडकालमा ज्यानै जोखिममा राखेर सेवा गरेको भन्दै स्थानीयले उनको प्रशंशा गर्ने गरेका छन् ।

आगामी निर्वाचनमार्फत छत्रकोटमा मतदाताले आफुलाई जिम्मेवारी दिने कुरामा कुनै द्धिविधा नरहेको उनले उल्लेख गरे । समुन्नत छत्रकोट बनाउने योजना अनुमोदनका लागि मतदातासँग दैनिक साक्षात्कार भईरहेको पाण्डेको भनाई छ ।

सेवा प्रवाह सरल बनाउने जनजीविकाका एजेण्डादेखि पूर्वाधार विकाससम्मका योजनासहित पाण्डे चुनावी मैदानमा छन् । उच्च सामाजिक तथा राजनैतिक छविका कारण पाण्डे र उनको पार्टी उच्च मनोवलका साथ चुनावी दौडाहामा लागेको छ ।

छत्रकोट एमालेको प्रभाव क्षेत्र हो जहाँबाट अघिल्लो स्थानीय चुनावमा पनि एमाले विजयी भएको थियो । नेकपा एमाले छत्रकोट गाउँकमिटीका अनुसार चुनावी घरदैलो,भेटघाट मतदाता प्रशिक्षण लगाायतका प्रचारात्मक कार्यक्रम तीव्र रुपमा भइरहेका छन् । त्यहाँ उपाध्यक्षमा सावित्रा ज्ञवाली उम्मेदवार छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web