९ दिनमा निक्षेप २२ अर्ब घट्यो


  • दिव्यदर्शन
  • बुधबार, बैशाख १४ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,वैशाख १४ । वैशाख लागेपछिका ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप वैशाख ९ गतेसम्ममा घटेर ४३ खर्ब ६७ अर्ब रुपैयाँ कायम भएको छ । वैशाख पहिलो साता १२ अर्ब निक्षेप घटेकोमा दोस्रो सातामा १० अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता बैंकको निक्षेप ५५ अर्ब रुपैयाँले बढेको थियो ।

यसैगरी चैत मसान्तको तुलनामा बैंकको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले घटेको छ । चैत अन्तिम साता २० अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको बैंकहरूको कर्जा प्रवाह वैशाख ९ गतेसम्ममा ४१ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ । वैशाख पहिलो साता २ अर्ब र दोस्रो साता १ अर्ब कर्जा घटेको संघको तथ्यांकमा उल्लेख छ ।

चैत मसान्त बैंकहरूको तेस्रो त्रैमासिकको खाताबन्दी गर्ने बेला भएकाले निक्षेप र कर्जामा वृद्धि देखिएको हो । बैंकहरूले आफ्नो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएकाले यसलाई राम्रो देखाउन खाताबन्दीको बेला निक्षेप संकलन तथा कर्जा असुलीमा जोड दिने गर्छन् । वैशाख लागेसँगै चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप झिक्ने क्रम बढेको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web