पर्वतको विष्टपानीमा बोरिङ प्रविधिमार्फत पानी वितरण


  • दिव्यदर्शन
  • बिहिबार, बैशाख ८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

पर्वत,वैशाख ८ । पहाडी क्षेत्रमा डिप बोरिङ गरेर पानी निकाल्ने प्रविधि सफल भइरहेको अवस्थामा पर्वतको उच्च पहाडी क्षेत्र फलेवास नगरपालिका ३ पोखराचौर स्थित विष्टपानीमा डिप बोरिङ गरेर पानी निकालिएको छ । डिप बोरिङ गरेर निकालिएको पानी यहाँका १७ घरमा वितरण गर्न शुरू भइसकेको छ ।

नाम विष्टपानी भए पनि यो गाउँमा पानीको अभाव थियो । सामुद्रिक सतहबाट १२ सय ४८ मिटर उचाइमा रहेको विष्टपानी गाउँमा १ सय २० मिटर जमिनमुनिबाट पानी निकालिएको छ । ३२ एमएमको पाइपमा दिनमा दुई घण्टा पानी तान्दा गाउँलाई दिनभरि पुग्छ ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले उक्त आयोजनाको उद्घाटन गरे । सम्भावना नै नदेखेको ठाउँमा पनि लामो प्रयासपछि पानी निकालेर घरघरै वितरण गर्न सफल भएको शर्माले बताए । फलेवास नगरपालिकाले तीन वर्ष लगाएर यहाँ पानी निकालेको भन्दै शर्माले अरू ठाउँमा पनि यस्तो आयोजना शुरू गर्न सकिने सम्भावना रहेको बताए ।

नगरको समृद्धि र विकासका लागि आफूहरू असाधारण काम लिएर जनतामाझ गएको प्रमुख शर्माले बताए । नगरपालिकाले यो योजनाका लागि ४० लाख रुपैयाँ खर्चेको छ । यसअघि पनि विष्ट गाउँमा पानी ल्याउन धेरै प्रयास भएका थिए । वडाध्यक्ष अर्जुनबहादुर केसीले विष्टपानी जस्तो उच्च स्थानमा जमीनमुनिबाट पानी तानेर नमूना काम गरेको चर्चा गरे ।

नजिकमा पानीका मुहान नभएको र टाढाबाट पानी ल्याउँदा बेला बेलामा नआउने समस्याका कारण आजित भएका विष्टगाउँवासी जमिनमुनिको पानी आएपछि समस्याबाट मुक्त भएको केसीले बताए ।  शंकरपोखरी पानीको असुविधा भएको गाउँ हो । यहाँ टाढा टाढाका पानीका मुहान र आकाशे पानी संकलन गरेर समेत पानीको गर्जो टार्ने चलन थियो ।

यो गाउँमा लमायखोलाबाट पानी तानेर वितरण गर्ने बृहत् लिफ्ट खानेपानी आयोजनाको काम पनि अन्तिम चरणमा रहेको छ । पछिल्लो समय चलेका योजनाहरूले भने शंकरपोखरीवासीले सुविधाको श्वास फेर्न थालेका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web