महिला उद्यमशीलताको आधार वित्तीय साक्षरता


  • दिव्यदर्शन
  • बुधबार, बैशाख ७ २०७९
  • पढ्न लाग्ने समय 2 मिनेट

विराटनगर,वैशाख ७ । उद्यमी महिलाका लागि वित्तीय साक्षरता नै अहिलेको आवश्यकता रहेकाले राज्य र निजीक्षेत्रले त्यसका लागि आवश्यक कदम चाल्नुपर्ने सरोकारवालाले बताएका छन् । यसो गरे भविष्यमा मुलुकको अर्थतन्त्रमा महिला उद्यमीको टेवा निकै दरिलो हुने ‘स्ट्यान्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एन्ड अवार्डस् २०२२’ तयारीको क्रममा मंगलवार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले बताएका हुन् ।

उद्योग संगठन मोरङको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रममा संगठनका कार्यसमिति सदस्य तथा महिला उद्यम समिति संयोजक प्रतिभा रिजाल ओलीले मुलुकको आर्थिक विकासको एउटा अंश महिला जहिले पनि पछि परेको चर्चा गर्दै महिला उद्यमीका लागि वित्तीय साक्षरता अपरिहार्य रहेकाले त्यसबाट महिलाले लाभ लिने उल्लेख गरिन् । उनले भनिन् ‘मुलुकको आर्थिक विकासमा महिलाको योगदान पनि कम छैन र तलैबाट महिलालाई उद्यमशीलतामा साक्षर बनाएर लैजाने हो भने अर्थतन्त्रमा महिलाको योगदान अझ बढी हुन्छ ।’

अधिकांश महिलाले जीविकोपार्जनका लागि मात्रै व्यवसाय गर्ने गरेको र त्यसलाई विस्तार गर्न चाहे पनि बैंकबाट ऋण लिन प्रक्रिया थाहा नभएको, बजारबारे जानकारी नभएको कारण राम्रो उत्पादन भएर पनि सानो बजारमा खुम्चनुपरेको उनले खुलाइन् ।

त्यस्ता व्यवसायी महिलाले अगाडि कसरी जाने भन्ने विषयमा न्यू बिजनेश एजले आयोजना गरेको तालीम र अन्तरक्रिया बेलाबेलामा भइरहेमा त्यो निकै फलदायी हुने उनले सुनाइन् । महिला उद्यमीलाई ऋण लिने, आफ्नो व्यवसायको हिसाब राख्ने, बजारीकरण गर्न सक्ने बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले न्यू बिजनेश एजले वर्षमा दुईओटा यस्ता कार्यक्रम गर्नुपर्ने सुझाव दिइन् ।

संगठनका अध्यक्ष सुयशराज प्याकुरेलले राजधानीबाहिर पनि महिला उद्यमशीलताको विकासका लागि कार्यक्रम आयोजना भएकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए । उनले महिला उद्यमशीलताको विकासमा सबैभन्दा पहिले सारक्षता नै आवश्यक रहेको बताए । कार्यक्रमबारे न्यू बिजनेश एजका अध्यक्ष तथा प्रधानसम्पादक मदन लम्सालले प्रकाश पारेका थिए । यो कार्यक्रम विभिन्न प्रदेशमा गरिएको र त्यसमार्फत छानिएका महिला उद्यमीलाई राजधानीमा सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम राखिएको लम्सालले बताए । लम्सालले सन् २०१३ देखि नै न्यू बिजनेश एजले उद्यमशीलताको पक्षमा काम गर्दै आएको जानकारी दिए । महिला उद्यमशील भएमा मात्र मुलुकको आर्थिक विकास हुने बताउँदै लम्सालले त्यसका लागि न्यू बिजनेश एजले वार्षिक रूपमा महिला उद्यमीलाई तालीम र अन्तरक्रियामा सहभागी गराउँदै आएको बताए । नेपाल महिला उद्यमी महासंघका अध्यक्ष निरू रायमाझी खत्रीले लिडरशीप र लिडरशीपमा हुनुपर्ने गुणबारे सहभागीलाई तालीम दिएकी थिइन् । उनले व्यवसायलाई अघि बढाउन आवश्यक पर्ने विषयवस्तुबारे समेत सहभागीलाई जानकारी गराएकी थिइन् ।

कार्यक्रममा सहभागी लुमा घरेलु ढाका उद्योगकी सीता राईले आफूले व्यवसाय शुरू गर्दाका कठिनाइको तुलनामा अहिले आउने स्टार्टअपका लागि निकै सजिलो रहेको बताइन् । उनले न्यू बिजनेश एजले जस्तै अन्य संस्थाले पनि स्टार्टअपलाई सफल व्यवसाय सञ्चालनका लागि तालीम दिन आवश्यक रहेको बताइन् ।

‘स्ट्यान्डर्ड चार्टर्ड बैंककी विराटनगर प्रबन्धक शर्मिला हुमागाईंले महिला उद्यमीले लिने कर्जामा कतिपय अवस्थामा डकुमेन्ट नपुग्ने समस्या रहेको बताइन् । उनले व्यवसायका लागि सबै कागजात मिलेको अवस्थामा बैंकले सहुलियत दरको ऋण पनि उपलब्ध गराइरहेको जानकारी दिइन् । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web