प्युठान,वैशाख ६ । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम ईत्तेहाद संगठनले आगामी स्थानीय तहको निर्वाचनमा मुस्लिम समुदायको प्रतिनिधीत्व तथा सहभागिताको सुनिश्चितता लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। केहिदिन अघि काठमाण्डौंमा बसेको केन्द्रिय पदाधिकारी बैठकले आगामी स्थानीय तहको निर्वाचनमा मुस्लिम समुदायको सघन बसोबास रहेको प्रत्येक पालिकामा मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुमा उम्मेदवार बनाउन माग गरेको छ।
‘समावेशी तथा समानुपातिक सिद्धान्त अनुरूप बढि भन्दा बढि मुस्लिम उम्मेदवारहरुलाई सहभागिता गराउनका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छौं। संगठनका केन्द्रिय अध्यक्ष सेराज अहमद फारूकीले भने, ‘राज्यको नीति निर्माण तहमा हाम्रो समुदायको प्रतिनिधित्व अत्यन्तै कम देखिन्छ।’ तराई क्षेत्रको तुलनामा पहाडी जिल्लाका स्थानीय तहमा मुस्लिम समुदायको प्रतिनिधित्व चिन्ताजनक अवस्थामा रहेको रहेको उनले बताए।
आगामी स्थानीय चुनावमा सूर्य ध्वजा बाहक उम्मेदवारहरुलाई विजयी बनाउन संगठनको सिंगो केन्द्रिय कमिटी, प्रदेस कमिटी, जिल्ला कमिटी तथा मातहतका कमिटीहरुलाई सक्रियताका साथ परिचालन गर्ने निर्णय गरिएको संगठनका उपमहासचिव जबुल मियाँले जानकारी गराएका छन् ।