प्युठान,वैशाख ४ । ऐरावती गाउँपालिका -४ तिल्केनीका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ । शनिवार दिउसो तिल्केनीका ज्ञानबहादुर गुरुङ, डिलबहादुर गुरुङ , शान्ता गुरुङ र गिरबहादुर खत्रीको घरगोठमा आगलागी भएको थियो । आगलागीबाट घरगोठ संगै अन्नपात, लत्ताकपडा , बाख्रा कुखुरा जलेर नस्ट भएको थियो ।
आज यी अग्निपीडितहरुलाई विभिन्न निकायबाट राहत वितरण गरिएको छ । ऐरावती गाउँपालिकाबाट प्रतिघर ५० केजि चामल, दाल, नुन, तेल, स्वाईबिन , त्रीपाल र ब्लाङकेट लगाएतका सामाग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष नवील विक्रम शाहले जानकारी दिनुभयो ।
साथै अध्यक्ष शाहले राहतका लागि विभिन्न निकायमा पहल गर्ने समेत बताउनुभयो । ती परिवारलाई स्कुल तथा सामुदायिक वनको भवनमा बास ब्यबस्थापन गरिएको समेत उहाँले बताउनुभयो । साथै अग्नि पीडित परिवारलाइ जिल्ला प्रशासन कार्यालय प्युठानबाट प्रति परिवार १५ हजार रुपियाँ वितरण गरिएको छ । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आगलागी भएकै स्थानमा पुगेर उक्त राहत रकम वितरण गर्नुभएको हो । त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा प्युठानले अग्निपीडित परिवारलाइ एक सेट भाडा,लत्ताकपडा , पि म्याट वितरण गरेको थियो । त्यस्तै, नेपाली काङ्ग्रेस ऐरावती गाउँपालिकाका उपसभापति सतिस केसीले आफ्नो व्यक्तिगत चिउरा, चिनी, बिस्कुट अग्नि पीडित परिवार वितरण गर्नुभएको थियो ।