रुपन्देही,वैशाख २ । रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण कार्य पूरा भएसङ्गै विमान स्थलबाट आधी घन्टाको दुरिमा पर्ने पश्चिम नवलपरासी जिल्लाको सुनवलमा आन्तरिक तथा बाह्र पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले अत्याधुनिक सुविधा सम्पन्न पाँचतारे होटल ओरिओन सञ्चालनमा आएको छ ।
अमेरिकामा १४ वर्ष विताएर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सपना बोकेर ढाई वर्ष अगाडि नेपाल फर्केका अविनाश पोखरेलले झन्डै सवा अर्ब रुपैयाँ लगानीमा होटल ओरिओन सञ्चालनमा ल्याएका हुन्।
गौतमबुद्द अन्तर्राष्ट्रिय विमान स्थल भएर आउने स्वदेशी तथा विदेशी यात्रुहरुको सुविधाका साथै भगवान गौतमबुद्दको पवित्र जन्मस्थल लुम्बिनी, रामग्राम स्तुपा जस्ता महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरुमा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले मोफसलमै ठुलो लगानिमा होटल सञ्चालनमा ल्याइएको सञ्चालक अबिनाश पोखरेलले बताए ।
चार बिगाहा क्षेत्रफलमा निर्माण भएको सो होटलमा
फुल क्यासिनो, ५२ वटा डिलक्स,२२ वटा सुपर डिलक्स तथा ८ वटा सुइट गरी ८२ वटा सुबिधा-सम्पन्न कोठा रहेको होटल ओरियनमा एकै पटकमा २ हजार २ सय जना सहभागी हुन सक्ने सभाहल, ६ वटा साना सेमिनार हल, फिटनेस सेन्टर, दुईवटा स्विमिङ पुल, स्पा, स्टिम बाथ चारवटा रेष्टुरेन्ट, ३ सय सवारी साधन अट्ने पार्किङ सुविधा, लगाएतका तारे होटलले दिनुपर्ने सम्पूर्ण सेवा सुविधाहरू उपलब्ध हुने होटल सञ्चालनको भनाई छ ।
अहिले ५० जना भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइएकोमा होटल पूर्ण सञ्चालनमा आए लगत्तै सो सङ्ख्या बढाई १ सय ५० जना पुर्याउने होटल सञ्चालकको लक्ष्य छ । पर्यटन व्यवसायको मुख्य मेरुदण्ड मानिने होटल व्यवसायले एकातिर पर्यटन प्रवर्द्धनमा टेवा त पुर्याउछ नै अर्कोतर्फ स्थानीय स्तरमै सयौ युवाहरुलाई रोजगारीको वातावरण सिर्जना गर्दै उनिहरुको सीप विकासमा समेत महत्त्वपूर्ण भुमिका खेल्ने होटल सञ्चालक पोखरेलको दाबी छ ।