बागलुङ,वैशाख १ । पत्रकारिता क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न गलकोट नगरपालिका ३ हटियामा २ दिने उदघोषण कला तथा पत्रकारिता तालिम सम्पन्न भएको छ । ग्रामिण क्षेत्रमा पत्रकार उत्पादन गर्दै सञ्चार क्षेत्रमा नयाँ आयाम थप्न तालिमको आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ बागलुङको आयोजनामा २ दिनसम्म सञ्चालित तालिममा उदघोषण कला, पत्रकारिता, समाचार लेखन, सार्वजनिक कार्यक्रम सञ्चालन, सार्वजनिक भाषण, आम सञ्चार लगायतका विषयमा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेल, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य तथा सामुदायिक रेडियो परिवर्तनका स्टेशन प्रमुख राम नारायण सुवेदी र राष्ट्रिय समाचार समिती बागलुङका प्रमुख राम थापा अविरल, कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक प्रकाश बराल, सामुदायिक रेडियो गलकोट एफ एमका स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गरेका थिए । तालिममा गलकोट नगरपालिमा सञ्चालित विभिन्न विद्यालयमा माध्यामिक तहमा अध्ययनरत ३२ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
पत्रकारिता मार्फत गलकोट नगरको समृद्वि सुशासन, पारदर्शिता र यहाँका पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको प्रचार प्रसार, कृषि, खेलकुद, कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उद्येश्यले तालिम सञ्चालनको लागि गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिईन ।
तालिमको समापन समारोहमा बोल्दै गलकोट नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर विश्वकर्माले पत्रकारिता क्षेत्र सबैले विश्वास गर्ने पेशा भएको बताए । उनले पत्रकारिता पेशा खबरदारी गर्ने पेशा भएकोले पत्रकारले पत्रकारिता मार्फत समाजमा सुशासन कायम राख्न सहयोग पुर्याउनु पर्ने बताए । तालिममा सिकेका कुराहरुलाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न सके मात्र तालिमको सार्थकता रहने उनको जोड थियो । सो अवसरमा प्रशिक्षार्थी रेजिना घर्ती र रिजन श्रीसले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष नरेश कँडेलको अध्यक्षता र सचिव विजय रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।