नुवाकोट,चैत २५ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ वितलबमा बनेको आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथी लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष हरिशरण लामिछानेले भवन उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष श्रेष्ठले अब यस क्षेत्रका सबै स्थानियवासीले घरदैलोमै आधारभूत स्वास्थ्य सेवा पाउने बताए । स्थानीय सरकार पनि नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको बताउदै श्रेष्ठले पाण्डे परिवारले जग्गा प्रदान गरी महापुण्यको काम गरेको स्मरण गरे ।
उनले सरकारी तवरबाट आएका स्वास्थ्यकर्मी अपुग भएकाले तत्काल १ साताभित्र ब्यवस्थापन हुने प्रतिबद्धता व्यक्त गरे।कार्यक्रममा स्वास्थ्य भवन निर्माणका लागि दुई रोपनी जग्गा दान गरेका आमा भगवती पाण्डे र छोरा कल्याणभक्त पाण्डेलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा जिल्ला स्वास्थ्यकर्मी संघका अध्यक्ष समेत रहेका पाण्डेले आफ्नो बुबाले यदाकदा यस क्षेत्रमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको अभाव रहेको सुनाउने गरेको स्मरण गरे । बुबाको नाममा आमा भगवती पाण्डेले जग्गा दान र स्थानीयको स्वास्थ्य सेवा चालु भएकाले बुबाको सपना पुरा भएको पाण्डेले बताए । ‘आज बुबा परलोकमा कहाँ हुनुहुन्छ थाहा छैन तर उहाँको सपना साकार भयो वितलब आसपासका नागरिकले स्वास्थ्य सेवा पाए त्यसमै खुशी लागेको बताए’, पाण्डेले भने ।
कार्यक्रममा विभिन्न वडाका वडा प्रतिनिधि, गाउँपालिकाका स्वास्थ्य प्रतिनिधि, विद्यालयका शिक्षक प्रतिनिधि लगायतको सहभागिता रहेको थियो।
भिडियो हेर्नुस्