दोस्रोपटक चिनियाँ कम्पनीबाट खोसियो बूढीगण्डकी, स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र २५ २०७८
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं,चैत २५। सरकारले बूढीगण्डकी जलशाययूक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने निर्णय गरेको छ  । बिहीबार बसेको मन्त्रिपरिषद बैठकको

निर्णयले ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको प्रस्तावअनुसार बूढीगण्डकी आयोजनाबाट चाइना गेजुवा  हटाईएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यसअघि भएको मन्त्रिपरिषदको निर्णयअनुसार गेजुवा वाटर एन्ड पावर ग्रुपलाई जिम्मा दिईएको भएपनि काम हुन नसकेकाले सो आयोजना स्वदेशी लगानीमा अघि बढाउने गरी निर्णय भएको हो । चालू आर्थिक वर्षको बजेटमा आयोजनाको निर्माणको ढाँचा निर्धारण र स्रोत व्यवस्थापन गरी कार्यान्वयन गर्ने घोषणा भएको थियो । 

यस अघि बूढीगण्डकी निर्माणको लागि चाइना गेजुवा वाटर एन्ड पावर ग्रुपलाई आयोजना अघि बढाउनेबारे निर्णय लिन गत मंसिरमा तीन महिनाको समयसीमा दिइएको थियो । 

तर, गेजुवाले चासो नदिएपछि मन्त्रालयले आयोजनामा चिनियाँ कम्पनीलाई नकुर्ने निष्कर्ष निकाल्दै प्रस्ताव मनित्रपरिषदमा लगेको थियो । प्रत्येक प्रदेशमा एउटा जलाशययुक्त आयोजना बनाउने सरकारको योजना र प्रधानमन्त्रीको चाहाना अनुसार बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै अघि बढाउने घोषणा भएको थियो   ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७५ मा मन्त्रिपरिषदले इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्सिङ (ईपीसीएफ) मोडलमा बूढीगण्डकी बनाउन गेजुवालाई दिने मोडालिटी बनाउन ऊर्जा मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।   हाल स्वदेशी लगानीमा सरकार आफैंले बनाउने गरी  अघि बढाउने गरी निर्णय भएको हो । 

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web