काठमाडौं,चैत २३ ।नेपालबाहिरका एक सय देशबाट सोझै नेपालमा गाडी बुकिङको सुविधा उपलब्ध हुने भएको छ । नेपालको नाइन रेन्ट ए कार कम्पनी र जर्मनीको सिक्स्ट लिमिटेडबीच आगामी सेप्टेम्बरको दोस्रो हप्ताभित्रमा सो सम्बन्धी सम्झौता हुन लागेको छ । सम्झौतापछि नेपालबाट पनि सोझै ती देशहरूमा गाडी बुकिङको सुविधा उपलब्ध हुने नाइन कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमङ्ग बगारियाले जानकारी दिए । नाइन नेपालमा व्यावसायिक रूपले गाडी भाडामा उपलब्ध गराउने यस प्रकारको पहिलो कम्पनी हो । प्रमुख कार्यकारी अधिकृत बगारियाले नेपाल पर्यटन वर्ष २०११ को पूर्वसन्ध्यामा हुन लागेको यो सम्झौताले नेपाल आउने पर्यटकलाई व्यवस्थित सेवा उपलब्ध हुने बताए । नेपाललाई विश्वमा चिनाउनका लागि यो राम्रो अवसर भएको उनको भनाइ छ ।
सिक्स्ट गाडी भाडामा उपलब्ध गराउने युरोपकै सबैभन्दा ठूलो कम्पनी हो । नाइन यसको १ सय १ औं सदस्यका रूपमा रहनेछ । सिक्स्ट कम्पनीसँग आबद्ध भएपछि कम्पनीले दिँदै आएको सुविधा पनि बढाउने बगारियाले जानकारी दिए ।
उनका अनुसार जति बढी किलोमिटरमा कम्पनीको गाडी प्रयोग गरिन्छ त्यसलाई एयरमाइलेजमा गणना गरी निश्चित माइलेज पूरा भएपछि गाडी प्रयोगकर्तालाई हवाई टिकट दिने व्यवस्था गरिनेछ । यस्तै होटल ह्यात रिजेन्सीमा बसेमा त्यसको बसाइलाई पनि एयरमाइलेजमा गणना गरी सुविधा उपलब्ध गराइनेछ ।
नाइनबाट छोटा, मध्यम र लामो गरी तीन किसिमबाट गाडी भाडामा लिने पाइने प्याकेजको व्यवस्था गरिएको छ ।