अर्थतन्त्र गम्भिर संकटतर्फ जाँदैछ भन्दा ७% वृद्धिको कुरा गरे, अहिले श्रीलंकाकै झल्को दिइरहेको छ : अर्थविद


  • दिव्यदर्शन
  • बुधबार, चैत्र २३ २०७८
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौं,चैत २३ । अर्थतन्त्र सुधारमा सरकारले उपेक्षा गरेको भन्दै अर्थविद्हरुले चिन्ता व्यक्त गरेका छन् । 

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थविद्हरुले नेपालको अर्थतन्त्र संकटोन्मुख हुँदासमेत सरकारले उपेक्षा गरेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

अर्थविद् डा. डिल्लीराज खनालले नेपालमा अर्थतन्त्रका संकेतहरु राम्रो नभएको र अर्थतन्त्र गम्भीर संकटतर्फ गइरहेको बताए । उनले सरकारले अहिलेबाट नै बढी सजग भएर नीति निर्माण गर्न आवश्यक रहेको पनि बताए । 

अर्थविद् खनालले नेपालको अर्थतन्त्रमा एकातिर अर्थतन्त्रह्रास मुलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने किसिमको जटिल भ्रुणहरू देखिएको बताए । उनले अर्थविद्हरुले देशको अर्थतन्त्र गम्भीर रहेको कुरा बारम्बार भनेपनि सरकारका जिम्मेवार व्यक्तिहरूले यसमा चासो नदिएको आरोप लगाए ।  जिम्मेवार पक्षलेसमेत अर्थतन्त्र सुधारमा चासो नदेखाउँदा श्रीलंकाको झल्को आएको खनालको भनाइ छ ।

अर्थविद् खनालले भने, ‘अर्थतन्त्रका संकेतहरु राम्रा छैनन्, गम्भीर संकटतर्फ अर्थतन्त्र जाँदैछ । त्यसो भएको कारणले पनि अहिलेदेखि नै सरकार बढी सजग भएर कतिपय नीतिहरु लिनुपर्छ । त्यो नीति पनि बजेट वा पूँजीगत खर्चको मात्रै पक्ष भएन । मौद्रिक वा वित्तिय नीतिसँग मात्रै पनि सम्बन्धित भएन । व्यापार नीति, फरेन एक्सचेन्ज रिजर्भसँग विनिमय नीतिसँग । त्यसपछि उद्योगसँग पनि अन्तरसम्बन्ध भयो । एकातिर अर्थतन्त्र ह्रासमुलक हुने, मन्दीतिर जाने हो कि भन्ने हुने, अर्कोतिर आयात व्यापक रुपमा बढ्ने, सधैँ आयात व्यापक रुपमा बढ्ने र मूल्यवृद्धि पनि व्यापक हुने यस्तो किसिमको जटिल र एकले अर्कोलाई अन्तरसम्बन्ध झनै गहिरो बनाएर जाने प्रवृतिहरु, भ्रुणहरु देखिएका छन् । त्यसो भएको हुनाले पनि सरकार सजग हुनुपर्छ । हामीले यो धेरै पहिलादेखि भन्दै आएका थियौँ । तर सरकारका जिम्मेवार मान्छेहरुले ७ प्लस प्रतिशत आर्थिक वृद्धि गर्छौं भन्ने ढंगले उहाँहरुले प्रपोगाण्डा प्रचार गर्नुभयो । त्यसले प्रकारान्त जुन किसिमको संकटोन्मुखता तर्फ अर्थतन्त्र गइरहेको छ, त्यसलाई संवेदनशील हुने र सरकारले प्रो एक्टिभ्ली कहाँ कसरी, हस्तक्षेप गर्नुपर्छ, त्यसमा पनि अहिलेको ओपेन इकोनोमीमा, खुला अर्थतन्त्रमा सबैको भूमिका जोडिएको हुन्छ । सम्बन्धित सरोकारवाला, निजी क्षेत्र र त्यसका विज्ञहरु सबैलाई राखेर सामग्रीकतामा धेरै क्षेत्रलाई समेटेर अघि बढाउनु पर्नेमा सरकारले त्यसमा चासो दिएको देखिएन । यसमा सरकारको उपेक्षा देखियो । सरकारको संवेदनशीलता देखिएन । यसले कता कता श्रीलंकाको झल्को दिन्छ ।’


त्यस्तै अर्थविद् प्राध्यापक डा. विश्वम्भर प्याकुरेलले सरकारको रेमिट्यान्स कुन गतिमा गइरहेको छ भन्ने कुराको आँकलन गर्न नै गाह्रो हुन थालेको बताए । उनले नेपालमा अहिले अर्थमन्त्रालय, योजना आयोग र राष्ट्र बैंकबीच समन्वय नभइरहेको भन्दै यी तीनै अंग एकै ठाउँमा उभिएर अर्थतन्त्र सुधारका लागि नयाँ नीति ल्याउनुपर्ने बताए । 

अर्थविद् प्याकुरलले नेपालमा पनि राजनीतिक दलहरुमा परिवारवादलाई छोड्न नसकेकोले सानो भ्रष्टाचार मात्रै बाहिर आउने गरेको बताए । उहाँले ठूला भ्रष्टाचारका मुद्दाहरुको सुनुवाइ नहुँदा अर्बौं रुपैयाँ फ्रिज भइरहेको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web