तेस्रो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो’ शुरू


  • दिव्यदर्शन
  • आइतबार, चैत्र २० २०७८
  • पढ्न लाग्ने समय 2 मिनेट

ऊर्जा विकासमा निजीक्षेत्रको योगदान महत्त्वपूर्ण : राष्ट्रपति

काठमाडौं,चैत २० । राष्ट्रपति विद्यादेवी भण्डारीले ऊर्जामा निजीक्षेत्रबाट भएको योगदानको प्रशंसा गर्नुभएको छ । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो उद्घाटन शत्रलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले एक शताब्दीसम्म अपेक्षित गति लिन नसकेको ऊर्जाक्षेत्रलाई अघि बढाउन निजीक्षेत्रले महत्त्वपूर्ण योगदान गरेको टिप्पणी गर्नुभयो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको सहकार्यमा तेस्रो संस्करणको एक्स्पो शुरु भएको हो । नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइकमिशन एक्स्पोमा कन्ट्री पार्टनर छन् । जलविद्युत् क्षेत्रका नवीनतम प्रविधिको प्रदर्शनीसँगै सरोकारवाला सबैलाई एउटै छानामुनि छलफल तथा अनुभव आदानप्रदान गर्ने उद्देश्य एक्स्पोको छ ।

आईएफसीलगायत संघसंस्थाले प्रायोजन गरेको एक्स्पोमा नेपाल विद्युत् प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, नेपाल बैंकर्स एशोसिएशन र नेपाल निर्माण व्यवसायी महासंघको सहयोग छ ।

इपानले यसअघि २०१८ र २०१९ मा विद्युत् उत्पादनलाई मुख्य एजेन्डा बनाएर एक्स्पो आयोजना गरेको थियो । यसपटक भने विद्युत् बजारको पहिचानलाई मुख्य एजेन्डा बनाइएको छ । एक्स्पो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले जलविद्युत्को विकासका मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले निजीक्षेत्रको लगानीमै ऊर्जाको माग धान्न सक्ने अवस्था बनेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन एक्स्पो आयोजना गरिएको बताए । ऊर्जाको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ । ऊर्जा उत्पादन सम्भाव्यताको झन्डै ५ प्रतिशत मात्र उत्पादन भएको उनले बताए ।

२०४७ सालको परिवर्तनपछि निजीक्षेत्रले १ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरिहरहेको भए पनि पछिल्लो ३ वर्षदेखि विद्युत् खरीदविक्री सम्झौता हुन नसक्दा प्रवर्द्धकहरू हतोत्साहित बनेको आचार्यको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले ऊर्जा क्षेत्रमा निजीक्षेत्रबाट भएको लगानीको सुरक्षामा सरकार संवेदनशील हुनुपर्ने बताए । यसैगरी नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी र नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले निजीक्षेत्रमैत्री नीति तथा कानून राम्रो भए पनि व्यावहारिक पाटो कमजोर भएको भन्दै त्यसमा सुधार जरुरी रहेको बताए ।

नेपाल–भारत ऊर्जा व्यापारमा सक्रिय रूपमा काम गरिरहेको साउथ एशिया इनर्जी एक्स्पर्ट एवं कन्फिडिरेशन अफ इन्डियन इन्डस्ट्रिजका डा. भूपेन्दकुमार सिंहलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

एक्स्पोमा टाइटल स्पोन्सर गरेको एनएमबि बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याजदरमा विद्युतीय सवारीसाधनमा कर्जा लगानी गर्ने जानकारी दिएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web